हेटौंडा– बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरि महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ८ करोड खर्च गरेर यही असार १६ गतेदेखि स्वास्थ्य कार्यालयको परिसरमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो । इकाइको रुपमा सञ्चालनमा ल्याइएको यो प्रयोगशालामा सबैखाले परीक्षण गरिन्छ ।

उक्त इकाइकी ल्याब टेक्नोलोजिस्ट सुष्मा आचार्यका अनुसार कल्चर र पिसिआर परीक्षणका काम भइरहे पनि सबै परीक्षण प्रयोगशालाबाट गर्न सकिन्छ । यति महत्त्वपूर्ण प्रयोगशाला सञ्चालनमा आए पनि स्थानीयवासीले उपयोग गरेका छैनन् ।

शुक्रबार दिनभर पाँचवटा नमुना मात्रै प्रयोगशालामा आएको उनले जानकारी दिइन् । जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका नारायणबहादुर कार्कीका अनुसार निजी क्षेत्रको तुलनामा एक तिहाइ मूल्यमा यहाँ परीक्षण हुन्छ । उनको भनाइमा बाहिर लिपिड प्रोफाइल (एलएफटी) परीक्षणका लागि ९ सय रुपैयाँ लाग्छ । यहाँ ३ सय रुपैयाँमै हुन्छ । यसैगरी अन्य परीक्षणमा पनि न्यून शुल्क लाग्ने कार्कीले जानकारी दिए ।

उनका अनुसार ज्येष्ठ नागरिकलाई सो शुल्कमा पनि ५० प्रतिशत छुट र गरिब, विपन्नलाई शतप्रतिशत छुट उपलब्ध गराइएको छ । डायलासिस गरिरहेका बिरामीलाई ९० प्रतिशत छुट, मिर्गाैला प्रत्यारोपण गरेकालाई ९० प्रतिशत छुट, कोभिड परीक्षणका लागि शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी स्वास्थ्यकर्मीलाई ९० प्रतिशत, अवकाश प्राप्त कर्मचारीलाई ५० प्रतिशत, कर्मचारीका आश्रित परिवारलाई ५० प्रतिशत, ‘क’ वर्गका अपांगता भएका व्यक्तिलाई शतप्रतिशत र ‘ख’ वर्गलाई ५० प्रतिशत छुट दिइएको छ ।

प्रदेशभित्रको सुविधासम्पन्न प्रयोगशाला बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले निकै न्यून शुल्कमा उच्चस्तरको सेवा दिने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको भए पनि आमनागरिक भने सेवा लिन कम आएको बताए । ‘सरकारले न्यून शुल्कमा उच्चस्तरको सेवा दिँदासमेत महँगोमा नागरिकले प्रयोगशाला प्रयोग गरिरहेका छन्,’ उनको गुनासो छ ।

आम नागरिकसम्म तत्काल सन्देश पुग्न नसके पनि क्रमशः सबैलाई थाहा हुँदै जाने स्वास्थ्यमन्त्री जोशीले बताए । कुनै ठाउँमा रोग फैलिएर तत्काल नमूना लिनुपर्ने अवस्थामा यो प्रयोगशाला उपयोगमा आउने छ । उनले थपे, यहाँ आउने बिरामीको परीक्षण र रोग फैलिएको अवस्थामा समुदायमै पुगेर नमूना संकलन गरी परीक्षण गर्ने योजनाका साथ यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।’

प्रयोगशालाले नसर्ने तथा सर्ने रोगको अध्ययन, गुणस्तरमापन र तालिम दिनेजस्ता कामसमेत गर्ने छ । प्रयोगशालाले नसर्ने रोगको आवश्यक अध्ययन, अनुसन्धान र तिजा निकाल्ने आवश्यक समन्वय गर्नेछ ।

यस्तै सर्ने रोगबारे अनुसन्धान गरी नतिजा वितरण गर्ने, प्रादेशिक प्रयोगशालाबाट गुणस्तर नियन्त्रणका लागि पठाइएका नमुना परीक्षण गरी नतिजा संकलन गर्ने र विश्लेषण गर्ने, प्रयोगशालाको गुणस्तर मापन गर्नेलगायत काम गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय