काठमाडौं– वीर अस्पतालले फार्मेसीका लागि बिनाप्रतिस्पर्धा औषधि खरिद गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए ।

अस्पताल प्रशासनले तीनवटा फार्मेसीका लागि प्रक्रिया पूरा गरेरै औषधि खरिद गरेको दाबी गरे पनि अनुगमनका क्रममा २०७८ देखि पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको उनको भनाइ छ ।

अनुगमन टोली सदस्य समेत रहनुभएका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले भने, ‘विसं २०७८ देखि हालसम्म बोलपत्र आह्वान नगरी औषधि खरिद गरिरहेको अनुगमनका क्रममा देखिएको छ ।’

उनले अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, अनावश्यक औषधि स्टोरमा राखेको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको जानकारी दिए ।

वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले फार्मेसीको नेतृत्व यसबीच तीन पटक परिवर्तन भएकाले बोलपत्र आह्वानमा समस्या देखिएको बताए । उनले केही औषधि खरिदका लागि भने बोलपत्र आह्वान भइसकेको जानकारी दिए ।

‘बीमाबाट आउनुपर्ने रकम ६ महिनासम्म पनि नआउँदा आपूर्तिमा समस्या भएको हो । अन्यत्रबाट सोझै खरिद गरी ल्याउन सकिन्न,’ उनले भने, ‘आपूर्तिकर्तासँग अत्यावश्यक औषधिखरिदका लागि पटक–पटक छलफल गर्दा पनि भुक्तानी नभएकाले आपूर्ति रोकिएको छ ।’

निर्देशक पौडेलले प्राविधिक जनशक्ति अभावले अस्पतालद्वारा सञ्चालित तीन वटा फार्मेसी चौबिस घण्टा सञ्चालन गर्न नसकिएको पनि बताए । उनले एउटा काउन्टरलाई २४ घण्टा सञ्चालन गरे पनि दुई वटा काउन्टर भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय