काठमाडौं– डलर अर्बपति उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बयान दिएका छन् ।

बाँसबारी छालाजुत्ता कारखानाका जग्गा प्रकरणमा सीआईबीले चौधरीसँग बयान लिएको हो । सीआईबीको रोहबरमा सरकारी वकिलको कार्यालयमा गएर चौधरीले बयान दिएका हुन् ।

बयानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद चौधरीले आफ्नो चरित्रको प्रमाणपत्र स्टन्ट गर्नेहरुलाई बुझाउनु नपर्ने प्रतिक्रिया दिए ।

‘४५ वर्षको उद्यमको यात्राको आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूलाई,’ चौधरीले भने । उनले मुलुक कठिन आर्थिक परिस्थितिबाट गुज्रिइरहेको बेला आफू जस्ता उद्यमीलाई बयान लिने कार्यले कस्तो सन्देश जाला भन्दै प्रश्न पनि गरे ।

‘यो बेलामा मजत्तिको मानिसले यो कुरा भनिरहँदा नेपालभरि रहेका र विश्वभरि रहेका, नेपालका युवा, उद्योगी र करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हो भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने हो,’ सांसद चौधरीले भने । आफू सीआईबीको मौखिक अनुरोधमा बयानका लागि आएको पनि उनले प्रस्ट पारे ।

निजीक्षेत्रका उद्यमी व्यवसायीलाई राजनीतिमा मुछ्न नहुने पनि उनले बताए । ‘राजनीति गर्न आफ्ना फोरम छन्, त्यसका आफ्ना तरिका छन् । म पनि नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुँ,’ उनले भने । ‘बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा अनुसन्धान बारे संसद्लाई जानकारी गराएको पत्र जुनरूपले देशभरका सञ्चार माध्यममा रंगिए, त्यसले नै स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रस्ट भएको छ ।’

उक्त जग्गाका विषयमा प्रश्न उठेर भाइ अरूण चौधरीमाथि अनुसन्धान हुनेबित्तिकै संसदीय दलको बैठकमा आफ्ना सबै कुरा राखिसकेको र त्यो कुरा सार्वजनिकरूपमा बाहिर आइसकेको उनले बताए । ‘त्यसपछि ममाथि अनुसन्धानको कुरा चल्नेबित्तिकै सदनमा उभिएर जवाफ दिएको छु,’ उनले भने ।

‘एउटा जिम्मेवार व्यक्ति, एउटा जिम्मेवार राजनीतिकर्मीको हैसियतले र उद्यमीको हिसाबबाट पनि म यहाँ सहयोग गर्न उपस्थित भएँ,’ उनले भने, ‘४२ वर्ष अगाडि बाँसबारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाई, त्यो बेलाको सार्वजनिक–निजी साझेदारीको एउटा उत्कृष्ट मोडलको रूपमा नवीनतम सोचलाई जुन किसिमले राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ ।’

हजारौं रोपनीको निजी औद्योगिक ग्राम एक्लै स्थापना गर्ने, ८० वर्षदेखि देशभरि विभिन्न परियोजना गर्दै आएको चौधरी समूहले बाँसबारीको १० रोपनी जग्गामा कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपज भएको उनले बताए । उनले सीआईबीमा करीब दुई घन्टा बयान दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय