गृष्म ऋतुको आगमनसँगै देशका विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिबिलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको उडान समेत रोकिएको अवस्था छ । पछिल्लो समय अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरूको चाप बढेको अनुभव भएको छ ।

हामीले प्रत्येकपटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौं । एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११०० लिटर जति हावा लिन्छौं । प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्यासहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्यासहरु पनि फोक्सोभित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्यासहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ ।

वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या तत्कालीन र दीर्घकालीन हुन्छन् ।

तत्कालीन असरमा आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने, घाँटी खसखस गर्ने, खोकी लाग्ने खकार आउने, सास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् । प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँदछ र निमोनिया जस्ता घातक रोगहरू लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धित रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ ।

दीर्घकालीन असर 
प्रदूषित स्थानमा लामो समयसम्म बस्दाखेरि त्यसले हाम्रो श्वासप्रश्वास प्रणाली र शरीरमा गम्भीर समस्याहरूको सृजना गर्न सक्छ । प्रदूषणबाट हुने दीर्घकालीन समस्यामध्ये प्रमुख रोग दम नै हो, यसको साथसाथै फोक्सोको क्यान्सर, उच्चरक्तचाप, हृदयघात, मस्तिष्कघात, मुटुको चाल अनियमित हुने जस्ता समस्या पनि देखिन सक्छ । वायु प्रदूषण बालबालिका र गर्भवती महिलाका लागि पनि त्यत्तिकै खतरनाक छ । त्यसकारण वायु प्रदूषणबाट बच्न विशेष रुपले गर्भवती महिला र बालबालिकाले ध्यान दिनुपर्दछ । वायु प्रदूषणले गर्दा शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने, पछि गएर श्वासप्रश्वासको समस्या देखिन सक्दछ ।

यसबाट कसरी जोगिने ?
व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषण न्यूनीकरणको लागि गम्भीर रुपमा लाग्न आवश्यक छ । यसले कुनै व्यक्ति, वर्ग वा समुदाय छुट्याउँदैन । सहरी क्षेत्रको कुरा गर्दा प्रदूषण बढ्ने विशेष समय भनेको बिहान र साँझ हो । यो समयमा सकेसम्म घर बाहिर निस्कनु हुँदैन । सकेसम्म प्रदूषण कम हुने समयमा निस्कने । निस्कनै परेमा मास्क लगाएर मात्र निस्कनु पर्छ । हामीले सामान्यतया लगाउने सर्जिकल मास्कले सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउनुपर्छ । यसले ९५ प्रतिशतसम्म कणहरूलाई छेक्न सक्छ, यद्यपि हानिकारक ग्यासहरू र अत्यन्त सुक्ष्म कणहरूबाट भने यसले बचाउन सक्दैन ।

ग्रामीण क्षेत्रको हकमा प्रदूषणको मुख्य कारण भनेको घरभित्रबाट हुने प्रदूषण जस्तै दाउरा, गुइँठा मट्टीतेलको चुलो आदिमा खाना पकाउने इन्धन हो र त्यसको न्यूनीकरण गर्न सुधारिएको चुलो प्रयोग गर्ने, भान्छामा धुवाँ जम्मा नहुने किसिमले वायुसञ्चारको व्यवस्था मिलाउने, स्वच्छ उर्जाको प्रयोगमा बढी जोड दिने आदि हो । वनजंगल वन्यजन्तुको साझा घर हुनुको साथै स्वच्छ हावाको स्रोत पनि हो । यसको संरक्षणमा विशेष जोड दिनु आवश्यक छ र मानवीय रूपमा पनि वनजंगलमा आगो लगाउनु भनेको अक्षम्य अपराध हो । यस्तो अपराधीलाई कडाभन्दा कडाई कारबाही गर्ने नियम कानुन अवलम्बन गर्नु पनि उत्तिकै आवश्यक छ ।

(डा. महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका श्वासप्रश्वास रोग विशेषज्ञ हुन् ।)

Hello

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय