काठमाडौं– यसअघि झन्डै दुई तिहाइ बहुमतको सरकार पूरा अवधि टिकाउन नसकेर आलोचित बनेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । संयोग पनि कस्तो भने यसपालि पनि उनी झन्डै दुई तिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका छन् । ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम असार ३० गते प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि असार ३० गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरेलगत्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताको हैसियतमा संसद्को बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।

प्रधानमन्त्री ओलीको सपथ सोमबार विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि दुई तिहाइ बहुमतको सरकार पूरा अवधि टिकाउन नसकेका ओलीले फेरि झन्डै दुई तिहाइ बहुमत सरकारको नेतृत्व गर्ने मौका पाएका छन् ।

ओली यसअघि तीनपटक प्रधानमन्त्री भइसकेका छन् । उनी २०७२ असोज २४ गते ओली पहिलोपटक प्रधानमन्त्री बनेका थिए । २०७४ सालको आम निर्वाचनपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उनले दोस्रोपटक सरकारको नेतृत्व गर्ने मौका पाए ।

त्यसपछि २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकता भई उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्षमध्ये पहिलो वरियताको अध्यक्ष बने । पार्टीभित्रको विवादका कारण उनी नेतृत्वको सरकार अल्पमतमा पर्यो । तत्कालीन राजनीतिक घटनाक्रमबीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि निर्वाचनका लागि गरेको सिफारिस सर्वाेच्च अदालतको आदेशबाट बदर भएपछि ओली सरकारको नेतृत्वबाट बाहिरिनु परेको थियो ।

देशले राजनीति र सत्ताको नेतृत्वमा युवालाई देख्न चाहेका बेला ७३ वर्षका ओलीको हातमा सत्ताको बागडोर पुगेको छ । ओली २००८ साल फागुन ११ तेह्रथुममा जन्मेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय