ढाका– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले संसद् विघटन गरेका छन् ।

राष्ट्रपति भवन बंगभवनले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तीनवटै सशस्त्र बलका प्रमुख, विभिन्न राजनीतिक पार्टीका नेताहरु र नागरिक समाजका प्रतिनिधि तथा भेदभावविरोधी विद्यार्थी आन्दोलनका नेताहरुसँगको छलफलपछि संसद् विघटन गर्ने निर्णय गरिएको छ ।’

बंगलादेश नेसनलिस्ट पार्टीका अध्यक्ष खालेदा जियालाई रिहा गरिएको जुलाई १ देखि हालसम्म पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्ने प्रक्रिया सुरु गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । कतिपयलाई त रिहा गरिसकिएको छ ।

उता, नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुसले सल्लाहकारको रुपमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री सेख हसिना सोमबार सत्ता छाडेर विदेश भागेपछि बंगलादेश अहिले सरकारविहीन अवस्थामा छ । यही बेला आन्दोलनकारी विद्यार्थीले विदेश भ्रमणमा रहेका प्राडा युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेका थिए ।

‘सुरुमा विद्यार्थीहरुको तर्फबाट सम्पर्क गर्दा पहिले म राजी भइन । मैले उनीहरुलाई आफूले गर्न बाँकी काम थुप्रै भएको बताएँ । तर विद्यार्थीले मलाई बारम्बार आग्रह गरिरहे,’ बंगलादेशी पत्रिका द डेली स्टारले युनुसले आफ्ना निकटवर्तीलाई बताएको कुरा उद्धृत गर्दै लेखेको छ ।

‘थुप्रै मानिसले यो आन्दोलनमा आफ्नो ज्यान गुमाएका छन् र थुप्रै विद्यार्थी एवं सर्वसाधारण मारिएका छन् । अहिले बंगलादेशसँग मुलुकलाई उचित ढंगले सञ्चालन गर्ने अवसर छ । र तपाईंले यो जिम्मेवारी लिनुभयो भने मात्र यो सम्भव छ । यदि तपाईं जिम्मेवारी लिन राजी हुनुहुन्न भने यो हामी कसैका लागि पनि राम्रो हुँदैन । त्यसकारण हामीले तपाईंलाई यो जिम्मेवारीका लागि आग्रह गरिरहेका छौं,’ एकजना अगुवा विद्यार्थीले युनुससँग भने ।

जवाफमा युनुसले भनेका छन्, ‘मैले पनि ती विद्यार्थीले ठूलो आन्दोलन गरेको र आजको अवस्थाका लागि उनीहरुले चुकाएको मूल्यलाई ध्यानमा राखें । यदि ती विद्यार्थीले यति धेरै बलिदानी गर्न सक्छन् र देशका लनताले यति धेरै बलिदानी गर्न सक्छन भने मेरो पनि केही जिम्मेवारी छ । अनि मैले विद्यार्थीहरुलाई उक्त जिम्मेवारी लिन सक्ने बताएँ ।’

युनुस ओलम्पिक कमिटीको निम्तामा विशेष अतिथिको रुपमा पेरिस गएका थिए । उनी अझै पनि उपचारको सिलसिलामा विदेशमै छन् । डा. युनुस चाँडै बंगलादेश फर्किने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय