काठमाडौं– सिंहदरबारको पूर्वी गेटनजिकै अनामनगरमा रहेको चण्डेश्वरी क्यामरा मर्मत केन्द्रमा भक्तपुरका राजकुमारलाई ड्रोन मर्मत गर्न भ्याई नभ्याई हुन्छ । स्वदेशी र विदेशीहरु उनलाई खोज्दै त्यहाँ पुग्छन् । आफ्नो कामको प्रचार सामाजिक सञ्जालमार्फत गर्न सिपालु राजकुमार ड्रोन मर्मतको भिडियो खिचेर फेसबुक, टिकटक र युट्युबमा राख्छन् । त्यसबाट धेरै फाइदा भएको उनले सुनाए ।

राजकुमार ड्रोन मर्मतको काम आफूले मात्रै गर्दैनन् अरुलाई सिकाउँछन् । हालसम्म १० जनालाई मर्मतको सीप सिकाएको उनले बताए । ड्रोन मर्मतबाट मासिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म सहजै कमाइ गर्न सकिने उनले बताए ।

१४ वर्षदेखि भिडियो क्यामेरा मर्मत गर्दै आएका तिमिल्सिना पछिल्ला दिनमा ड्रोन मर्मतलाई विशेष पेसा बनाएको बताउँछन् । फोटोग्राफी, भिडियोग्राफीमा ड्रोनको प्रयोग बढ्दै गएपछि मर्मतसम्भार गर्ने स्थानको अभाव हुन थाल्यो । त्यही भ्याकुम उनका लागि अवसर बनेको छ ।

भिडियो क्यामेरा मर्मतका क्रममा विभिन्न टेलिभिजन स्टेसनमा गए पनि काम गरेको पारिश्रमिक नपाएपछि ड्रोनलाई नै खास समय दिएको उनले सुनाउनुभयो । नाम चलेका टेलिभिजनले नै पारिश्रमिक दिन कन्जुस्याइँ गरेकोे नमिठो अनुभव उनीसँग छ । ‘आफूले जानेको काम छाडेको त छैन, तर मुख्य काम भने यतिबेला ड्रोन मर्मत नै बनाएको छु । यसबाट सबैभन्दा बढी सन्तुष्टि मात्रै मिलेको छैन । कमाइ पनि राम्रो भएको छ’ उनले भने ।

महँगोमा खरिद गरेको ड्रोनमा सामान्य समस्या आउँदा पनि मर्मत गर्ने स्थानको अभाव हुँदा त्यत्तिकै थन्क्याउनुपर्ने बाध्यता थियो । ड्रोन बनाउन जान्ने दक्ष जनशक्ति कम हुँदा महँगो मूल्यको ड्रोन कहाँ बनाउने भन्ने तनाव प्रयोगकर्तामा पनि उत्तिकै थियो । उनलाई यतिबेला ड्रोन मर्मतको कामले भ्याई नभ्याई छ । देशभरका ड्रोन प्रयोगकर्ताको एकमात्र भरोसाका रुपमा आफूलाई पाएको उनी दाबी गर्छन् । आजकल चण्डेश्वरी क्यामरा मर्मत केन्द्र राजकुमार ड्रोन हाउसबाट चिनिन थालेको छ ।

२०७२ सालको भूकम्पपछि ड्रोन किन्ने र प्रयोग गर्नेको संख्या ह्वात्तै बढ्यो । यो १० वर्षको अवधिमा विवाह, व्रतबन्ध, वृत्तचित्र निर्माण, निजी तथा सरकारी कार्यक्रमदेखि ‘भ्लग’ बनाउन ड्रोनको अत्यधिक प्रयोग भएको छ । प्रयोग बढ्दै जाँदा मर्मतको काम उत्तिकै बढेको छ । तिमिल्सिना भन्छन्, ‘सक्कली सामानको ग्योरेन्टीसहित ग्राहकको अगाडि नै मर्मत गर्ने गरेको छु । क्यामरा र भिडियो क्यामरामा लामो समयदेखि मर्मतको काम गरेकोले ड्रोन बनाउन मलाई धेरै समय नै लाग्दैन ।’

देशैभरबाट मर्मतको लागि ड्रोन प्राप्त हुने गरेको उनको भनाइ छ । दैनिक तीनदेखि चारवटा ड्रोन मर्मतका लागि आइपुग्छ । अन्य स्थानमा नजानेका मानिसले मर्मतको नाममा बिगारी दिए भन्नेदेखि अब बन्दैन भनेका धेरै ड्रोन मर्मत गरेको उनको दाबी छ ।

क्यामरा मर्मतबाट व्यवसाय सुरु गरेका तिमिल्सिना ड्रोन मर्मतको विज्ञका रुपमा चिनिएका छन् । नयाँ क्षेत्र भएकोले आम्दानी राम्रै हुने गरेको छ । प्रयोग बढ्दा स–सानो प्राविधिक समस्या आउनु स्वाभाविक नै छ । छिटो मर्मत गर्नुपर्ने हुन्छ । खासमा मर्मत गर्न जान्ने दक्ष जनशक्तिको अभाव नै छ । कतिपयले चलाउन नजान्दा वा दुर्घटनामा पर्दा बिग्रिने गरेको छ । खासमा दुर्घटना भयो भने ड्रोनमा धेरै समस्या आउँछ ।

राजकुमार सुरुमा त्रि–चन्द्र कजेलमा साइन्स पढ्न भर्ना भएका थिए । तर उनी असफल भए । उनलाई त्यसमा पढ्नै मन लागेन । ‘विषय लागेपछि टेलिभिजन ममर्तको काम सिक्न अनामनगर आएको थिएँ । त्यो दिन मेरा लागि रुचीकर थिएन । तर, आज नाम र दाम दुवै प्राप्त हुँदा सही निर्णय गरिएछ भन्ने लागेको छ,’ उनले भने ।

विज्ञान पढन गएको छोरो अनुत्तीर्ण भएर फर्केपछि उनलाई घरमा बुवाले चित्त दुखाएर भन्नुभयो, ‘यसले गरी खाँदैन, अब तँ विदेश जा ।’ पढाइ पनि छैन, काम पनि छैन, विदेश जानुबाहेक अरु कुनै विकल्प नभएको बेला आफू संयोगले क्यामेरा र टेलिभिजन मर्मतका लागि अनामनगर आइपुगेको स्मरण गर्छन् तिमिल्सिना ।

‘जब मलाई प्रविधि क्षेत्र र मर्मतको काममा रुची बढ्यो, तब मैले विज्ञानलाई अर्कै तरिकाले अध्ययन गर्ने सोच बनाए । खास अध्ययन भने मानविकी तर्फ सारे । काम भने यही मर्मतलाई नै बनाए । यसैलाई खास पेसाका रुपमा रुपान्तरण गरे,’ विगत सम्झँदै तिमिल्सिनाले भए ।
‘सुरुमा टेलिभिजन मर्मतको धेरै नै माग थियो । त्यही सिके र जाने पनि’ त्यसपछि क्यामरा, भिडियो क्यामरातर्फ लागेको उनको भनाइ छ ।

क्यामरा र भिडियो क्यामरा मर्मतबाट राम्रो आम्दानी हुन थाल्यो । अनामनगरको त्यही सटर जहाँ १४ वर्षदेखि तिमिल्सिनाको काम लगातार चलिरहेको छ । जहाँबाट काम सुरु गरेका हो, त्यही स्थानलाई ड्रोन हाउसको नाम दिएको उनको भनाइ छ । भिडियो क्यामेरा मर्मतका लागि लोकप्रिय बनेको अनामनगरको उनको सटरले आजकल नयाँ नाम पाएको छ ड्रोन हाउस ।

व्यावसायिक फोटो भिडियोग्राफर, फोटो, भिडियो पत्रकार, फोटो स्टुडियोका सञ्चालकले आफ्नो सामान मर्मत गर्ने ठाउँ बनेको छ उनको सटर । अझ पछिल्लो समय ड्रोन मर्मतको कामले उनलाई फुर्सद नै छैन ।

मानविकी संकायबाट अंग्र्रेजीमा स्नातकोत्तर गरेपछि पनि राजकुमारलाई अन्य पेसामा जान मन लागेन । पढेपछि सरकारी र अन्य स्थानमा जागिर खाने सोच धेरैको भए पनि उनले प्राविधिक क्षेत्रमा नै आफ्नो भविष्य देखेको बताए । (रमेश लम्साल)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय