प्रत्येक वर्ष नेपालसहित विश्वभर ‘विश्व हेपाटाइटिस दिवस’ मनाउने गरिन्छ । ‘यो कामको लागि समय हो’ नाराका साथ विश्वभर सन् २०२४ मा उक्त दिवस मनाइँदैछ। हेपाटाइटिस कलेजोको संक्रमण हो । यो रोग विभिन्न किसिमका भाइरसले हुने गर्दछ । मुख्य ५ प्रकारका हेपाटाइटिस भाइरस हुन्छन्।
रोगको सर्ने तरिका र दीर्घकालीन असरलाई अध्ययन गर्दा भाइरल हेपाटाइटिस ए, बी, सी, डी र ई लाई दुई समूहमा बाँड्न सकिन्छ । हेपाटाइटिस ए र ई पानी र दूषित खानाबाट सर्छ । जुन विकसितभन्दा अविकसित मुलुकमा धेरै मात्रामा हुन्छ । हेपाटाइटिस ए र ई को क्षणिक असर हुन्छ । हेपाटाइटिस बी र सी रगत र रगतको अन्य माध्यम तथा असुरक्षित यौन सम्पर्कबाट सर्छ । हेपाटाइटिस बी र सी ले दिर्घकालिन कलेजो को रोग, कलेजोको क्यान्सर पनि गराउन सक्छ ।
हेपाटाइटिस ए र ई भएको छ भने सामान्य रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । त्यसको एक हप्तापछि कमलपित्त हुने, पिसाब पहेंलो हुने, आँखा पहेंलो हुन्छ भने जिउ चिलाउने हुन्छ । बालबालिका तथा गर्भवती महिलाहरुमा समेत यो देखिन सक्छ । यो आफै निको हुँदै जान्छ। हेपाटाइटिस बी र सी मा अधिकांश मान्छेमा पहिला लक्षण हुँदैन । जन्डिस हुँदै गएपछि जिउ गल्ने र कलेजो बिग्रन समेत सक्छ । दीर्घकालीन कलेजो रोगमा पेटमा पानि, रगत बान्ता, बेहोस हुने आदि हुन्छ । केही बिरामीलाई अस्पतालमा समेत भर्ना गर्नुपर्ने हुन्छ ।
दीर्घकालीन हेपाटाइटिस बी निर्मुल हुँदैन तर औषधिको सेवनले नियन्त्रणमा राख्न सकिन्छ । त्यस्तै दीर्घकालीन हेपाटाइटिस सी औषधिको प्रयोग गरेर निर्मुल गर्न सकिन्छ ।
हेपाटाइटिस भएका बिरामीलाई स्वस्थ खाना, स्वच्छ, पौष्टिक,सन्तुलित आहार बिहार गर्नु पर्दछ । कुनै पनि खानेकुरा बार्नु जरुरी पर्दैन तर धेरै भुटेको, तारेको, मद्यपान, धुम्रपान गर्नु हुँदैन । विज्ञ चिकित्सकको परामर्श विनाऔषधि सेवन गर्न हुँदैन । हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । सन् २०३० सम्ममा हेपाटाइटिस उन्मूलन गर्ने लक्ष्य राखिएको छ ।
हेपाटाइटिस ए र बी खोपबाट नियन्त्रण गर्न सकिन्छ । स्थानीय निकाय, सरोकारवाला, प्रतिनिधि, तथा सरकारको बीचमा आवस्यक समन्वय तथा समुदाय स्तरमा हेपाटाइटिस रोगको सचेतना, पहिचान र भ्याक्सिन उपलब्ध गराउन सकिएको खण्डमा संक्रमण रोक्न मद्दत पुग्नेछ । साथै संक्रमण फैलन नदिन कन्ट्रयाक ट्रेसिङको माध्यम बाट संक्रमणको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाएर उनीहरु भित्रैबाट सम्भावित स्रोत र कारण पत्ता लगाउन सकिएमा थप प्रभावकारी हुनेछ ।
सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाए जस्तै हेपाटाइटिस बी को सबै नेपालीलाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ । जसले राष्ट्रको जनधनको ठूलो क्षति हुनबाट बचाउँछ । अर्को तर्फ हेपाटाइटिस ए र इको महामारीबाट बच्न सबै घर घरमा चर्पीको व्यवस्था, गाउँ शहरमा जताततै ढल निकासी, राम्रो र शुद्ध खानेपानीको व्यवस्था गर्न जरुरी देखिन्छ ।
(डा. शर्मा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका सिनियर कन्सल्टेन्ट ग्यास्ट्ररोइन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट हुन्।)