गाजास्ट्रिप– प्यालेस्टाइनको लडाकु समूह हमासको सशस्त्र सेनाले इजरायलले आफूहरुमाथि आक्रमण जारी राखे आफ्नो कब्जामा रहेका बन्धकहरूलाई बाकस (काफिन)मा फर्काइने चेतावनी दिएको छ । उसले इजरायली सेनाले प्यालेस्टाइनमाथि आक्रमण गरिरहे बन्दीहरूको सुरक्षामा रहेका सेनालाई ‘नयाँ निर्देशन’ दिने पनि बताएको छ ।
हमासको कठोर चेतावनीसँगै उसको कब्जामा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको भविष्यबारे चिन्ता बढेको छ ।
पछिल्लो समय इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट बन्धक मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ । प्रधानमन्त्री नेतान्याहुले भने हमासले शान्ति नचाहेकाले बन्धकहरुको हत्या गरेको दावी गर्दै आएका छन् ।
यही स्थिति कायम रहेमा बन्धकहरु कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत बताएका छन् ।
यस अघि ६ जना बन्धकलाई ‘मृत्युदण्ड’ दिएपछि सेना बन्धकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ ।
हमासले गत वर्ष (२०२३) अक्टोबर ७ मा दक्षिणी इजरायलमा स्थल आक्रमण गरी झन्डै साढे ११ सयको ज्यान लिनुका साथै इजरायली सैनिक र सर्वसाधारण गरी करीब अढाई सय जनालाई बन्धक बनाएर राखेको छ । बन्धकमध्ये केहीलाई हमासले रिहा गरेको छ भने केहीलाई इजरायली सेनाले हमासको कब्जाबाट मुक्त गराएको छ । केही बन्धकलाई मृत्युदण्ड दिइएको हमासको भनाइ छ ।
नेपालका बिपिन जोशी पनि हमासको कब्जामा छन् । हमासको आक्रमणमा कृषि पढ्न इजरायल पुगेका १० नेपाली विद्यार्थी मारिएका थिए ।