कीर्तिपुर (काठमाडौं)– उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी ७०० किलोग्राम र अकबरे खुर्सानी कतार पठाइएको छ ।

‘यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ,’ किसान बलामीको भनाइ छ । नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाएका छन् ।

‘गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ,’ बलामीको अनुभव छ । साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उनको भनाइ छ ।

कृषि वस्तु निर्यात गर्दै आएका संस्थाहरूले टाटेसिमीको निर्यात सम्भावना देखेपछि दक्षिणकालीका किसानलाई सो बाली लगाउन प्रोत्साहन गरेका थिए । प्रायः काउली र काँक्रो लगाइरहेका किसानले पनि दुवै बालीमा रोग कीरा बढ्न थालेपछि वैकल्पिक बाली खोजिरहेका थिए ।

यस्तैमा ललितपुरस्थित कृषि विकास कार्यालयले किसान समूहलाई ३ लाख रुपैयाँ अनुदान दिएको जानकारी पनि उनले दिए। तरकारी निर्यातका लागि भने एक एग्रोजस्ता संस्थाले किसानलाई सघाउँदै आएका छन् ।

‘अब नासपाती र लप्सी पनि निर्यात गर्न पाए हुन्थ्यो,’ बलामी थप्छन्। कोरोनाकालमा ‘लकडाउन’का कारण लाखौंका लप्सी खेर गएको पनि उनले बताए ।

अर्का किसान गीता बलामी महिलामध्ये ठूलो परिमाणमा खेती गर्नेमा पर्छिन् । आफू १७ वर्षको हुँदा कारितास नेपालले दिएको अर्गानिक खेतीसम्बन्धी तालिमबाट कृषिकर्ममा प्रवेश गरेकी उनले बिहीबार झन्डै ३०० केजी टाटेसिमी निर्यातका लागि पठाएकी थिइन्। वर्षायामभरि टाटेसिमी र खुर्सानीको खेती र हिँउदभरि लप्सीको क्यान्ड बनाएर बेच्ने उहाँ पनि लप्सी निर्यात गर्न सके फर्पिङका किसानले थप फाइदा पाउने बताउँछिन् । बालबच्चा सानो भएका कारण केही वर्षयता लप्सीको क्यान्डी बनाउने काम रोक्नुपरेको थियो । ‘विदेश पठाउन सकिने अवस्था आए फेरि त्यो उद्योग सुरु गर्छु,’ उनले भनिन् ।

यसबारे रासससँग कुरा गर्दै नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले कृषिबाटै नगरपालिकाले समृद्धि हासिल गर्न सक्छ भन्ने मनन् गरी विदेश निर्यात हुने गरी उत्पादन गर्न किसानलाई प्रोत्साहन गरिएको बताए ।

दक्षिणकाली नगरपालिकाकी कृषि शाखा प्रमुख पविता राईका अनुसार नगरपालिकाका विभिन्न स्थानमा गरी करिब ३२ रोपनी जमिनमा अर्को महत्त्वपूर्ण नगदेबालीका रूपमा जिम्बुको खेती हुन्छ । जिम्बु दाल, तरकारी अचार आदिमा विशेष स्वाद कायम गर्न प्रयोग हुन्छ । विगतमा हिमाली क्षेत्रमात्र स्रोत रहेका जिम्बुलाई हिमाली क्षेत्र मुस्ताङबाट ल्याइएका बीउले अहिले फर्पिङभरि फैलिएका छन् । नगरपालिकाका करिब ६५ घरका किसानले जिम्बुखेती गरेका छन् । हरेक घरले प्रतिमहिना दुईदेखि तीन क्विन्टल जिम्बु बेच्छन् । ‘वर्षायाममा त १५–१५ दिनमै काटिरहेका हुन्छन्,’ राईले भनिन् ।

जिम्बुलगायतका खेतका आली र डिलमा फूल र फलफूलको खेती गरेर थप आम्दानी गर्न समेत किसान हौसिएका छन् । सुरुमा घरवरपर त्यत्तिकै उम्रिएका फूल लगेर दक्षिणकाली मन्दिरका आउने दर्शनार्थीलाई बेच्दै सुरु भएको थियो फर्पिङमा फूल व्यवसाय । अहिले अन्यत्रसमेत निर्यात गर्नेगरी फैलिएको छ । मौसमी फूल बटुलेर बेच्ने स्थानीय किसान विगत चार–पाँच वर्षयता प्लाष्टिक टनेलमा बेमौसमी फूलखेती गर्ने भएका छन् । स्थानीय जातका गोदावरी र मखमलीको खेती खास सिजनमा मात्र हुने गरेको छभने फर्पिङमा कलकत्ते जात भनिने सयपत्रीको खेती सधैं हुने गरेको छ ।

नगरप्रमुख बस्नेतका अनुसार नगरपालिकाले कृषिलाई आफ्नो प्रमुख उत्पादन मानेको छ । कृषिमा पनि परम्परागत निर्वाहमुखी बालीलाई भन्दा निर्यातको सम्भावना रहेका तरकारी, फलफूल र लप्सीजस्ता उत्पादन विगत चार दशकयता हुँदै आएको छ । ‘फर्पिङको नासपाती’ परम्परागत प्रसिद्ध ब्रान्ड हो ।

प्रतिक्रिया

सम्बन्धित खवर