वासिंगटन डीसी– अमेरिकी रक्षा मन्त्रालय र विदेश मन्त्रालयले गाजामा ३० दिनभित्र मानवीय अवस्था सुधार नभए थप सैनिक सहयोग पठाउन रोक्न सक्ने इजरायललाई चेतावनी दिएको छ ।
२०२३ को अक्टोबरमा हमास र इजरायलबीच युद्ध सुरु भएदेखि अमेरिकाले इजरायललाई लगभग १८ अर्ब अमेरिकी डलर बराबरको हतियार, गोलाबारुद र अन्य सहयोग प्रदान गरेको छ । यस्तो सहयोग अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्ने सर्तमा आधारित रहेको अमेरिकी अधिकारीहरुको भनाइ छ ।
अमेरिकी रक्षा सचिव ल्योइड अस्टिन र विदेश सचिव एन्टोनी ब्लिन्केनले सोमबार इजरायली रक्षामन्त्री योआव गालान्ट र रणनीतिक मामिलाहरूका मन्त्री रोन डर्मरलाई पत्र पठाउँदै गाजामा मानवीय सहायता वितरणमा ठूलो गिरावट आएको बताएका छन् । यसलाई सुधार गर्न ३० दिनको समय दिएका छन् ।
‘यी उपायहरू कार्यान्वयन र कायम गर्नको लागि निरन्तर प्रतिबद्धता देखाउन असफल भएमा यसले एनएसएम–२० अन्तर्गतका अमेरिकी नीतिमा प्रभाव पार्न सक्छ,’ ब्लिन्केन र अस्टिनले लेखेका छन् । एमएसएन–२० राष्ट्रपति जो बाइडेनले फेब्रुअरी २०२३ मा जारी गरेको स्मृतिपत्र हो, जसले अमेरिकी हतियार प्राप्तकर्ताले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्ने ‘विश्वसनीय र भरपर्दो लिखित सुनिश्चितता’ दिनुपर्ने बताउँछ ।
विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले मंगलबार पत्रकारहरूलाई उक्त निजी पत्राचारले गाजामा पुगेको मानवीय सहायता स्तरबारे हाम्रो चिन्ता स्पष्ट गरेको बताए ।
अप्रिलमा पनि यस्तै पत्र पठाइएको मिलरले सम्झिए । गाजामा सहायता वितरण केही समयको लागि सुधार भएको भए पनि त्यसपछि ५०% भन्दा बढीले घटेको छ, र
सेप्टेम्बरमा गाजा क्षेत्रमा प्रवेश गरेको सहायता गत वर्षको कुनै पनि महिनामा भन्दा कम भएको अधिकारीहरूले लेखेका छन् ।
ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले मानवीय सहायता वितरणमा उल्लेखनीय गिरावट आएको छ, र त्यस आफूहरुलाई चिन्तित बनाएको बताएका छन् ।
किर्बीले सैनिक सहयोग सीमित गर्ने चेतावनीबारे टिप्पणी नगरे पनि, मिलरले पनि एमएसएन–२० तर्फ संकेत गरेका छन्, जसले मानवीय आवश्यकताहरू लागू गरेको छ ।
‘अमेरिकी कानुन अन्तर्गतका प्रावधान अन्तर्गत हामीलाई निश्चित प्रमाणीकरण दिन आवश्यक छ । र ती प्रमाणीकरण दिनको लागि हामीले इजरायलले गाजामा पुग्नुपर्ने मानवीय सहायता मनोमानी रूपमा अवरोध गरिरहेको छैन भनेर देख्नुपर्छ,’ मिलरले भने ।
इजरायली मिडियाका अनुसार एमएसएन–२० अन्तर्गतका प्रतिबन्धहरू टर्मिनल हाई अल्टिच्युट एसिया डिफेन्स (थाड) प्रणालीजस्ता ‘रक्षात्मक’ उपकरणमा लागू हुँदैन, जुन हालसालै इजरायललाई अर्को इरानी मिसाइल आक्रमण रोक्न सहयोग गर्न पठाइएको थियो ।
इजरायली रक्षा स्रोतहरूले जेरुसेलम पोस्टसँग भनेका छन्, प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग अमेरिकी मागहरू पूरा गर्ने विकल्प नहुन सक्छ, चाहे त्यसले उत्तरी गाजामा हमासलाई घेर्ने योजनालाई त्याग्नुपर्ने भए पनि ।
वासिंगटनले सार्वजनिक रूपमा पश्चिम जेरुसेलमलाई लेबनानमा हिजबुल्लाहविरुद्धको सैनिक अभियानको सट्टा कूटनीतिक मार्ग अपनाउन आग्रह गरेको छ ।









