काठमाडौं– नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इन्डियन चेम्बर अफ कमर्स (एसआईसीसीआई)बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर र एसआईसीसीआईबीच नेपालको जलविद्युत्, पर्यटन खनिज लगायत अन्य प्राकृतिक स्रोतमा लगानीका लागि समझदारी भएको हो ।
सिंगापुर भ्रमणका क्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए । अध्यक्ष अग्रवालले भने, ‘नेपालमा जलविद्युत्, पर्यटन, खानी एवं प्राकृतिक अन्य स्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्तासमक्ष आग्रह गर्दछु ।’ नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिबद्धता बताए ।
नेपालमा राजनीतिक स्थिरता, कानुनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उहाँले लगानीकर्ताहरुलाई अवगत गराए ।
पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गरे । नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारीमार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे ।