काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन् ।

उनले एमाले र कांग्रेसलाई इतिहास र हैसियत भएका पार्टीको रुपमा प्रस्तुत गर्दै यी दुई दल मिलेर बनेको सरकार ढल्ने दिवास्वप्न नदेख्न पनि चेतावनी दिए ।

सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

‘भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको छ । भ्रष्टाचारी समातियो भन्ने केही समय हल्ला मच्चिने, तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको अवस्था होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ,’ उनले भने । ‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर