काठमाडौं– नेपाली सडकमा समेत गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) नेटा उत्पादन गर्दै आएको चिनियाँ कम्पनी गम्भीर संकटमा परेको देखिएको छ । नेटा निर्माता होजोन अटोले झेजियाङ प्लान्टबाट उत्पादन रोकेको छ । चिनियाँ बजारमा उक्त ब्रान्डका गाडीको बिक्री सन्तोषजनक नभएपछि कम्पनीले कर्मचारीको तलब पनि कटौती गरेको समाचार कारन्युज चाइना डटकमले सार्वजनिक गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ योङले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल विबो र टिकटकमा ब्लग अपडेट गर्न पनि छाडेका छन् । होजोन अटो मूलधारको विद्युतीय सवारीसाधन निर्माता कम्पनीको रुपमा सन् २०१८ मा स्थापना भएको थियो ।

यसले नेटा भी जस्ता सुलभ मूल्यका विद्युतीय कार उतपादन गर्दै आएको छ । सन् २०२२ मा नेटाले ली अटो, निओ र एक्सपेङ जस्ता अटो निर्मातालाई उछिन्दै १ लाख ५० हजार युनिटभन्दा बढी कार उत्पादन गरेको थियो । त्यसबेला नेटाले प्राविधिक रुपमा उन्नत र उच्च मूल्यका मोडलहरु उत्पादन गर्ने निर्णय लिएको थियो ।

नेटाले अहिले नेटा अया (नेटा भी दुई), नेटा एक्स, नेटा जीटी, नेटा एल, नेटा एस र नेटा एस हन्टिङ मोडलका कार उत्पादन गरिरहेको छ ।

चीनमा नेटालाई गाह्रो
उन्नत र उच्च प्रविधियुक्त गाडी उत्पादन नेटाका लागि कठिन साबित भएको छ । चीनमा यसको विक्री परिमाण निरन्तर घटिरहेको छ । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्मा नेटाले जम्मा ५३ हजार ८५३ युनिट मात्रै घरेलु बजारमा बिक्री गरको रेकर्ड छ । यो कम्पनीको कुल वार्षिक बिक्री लक्ष्यको ३० प्रतिशतभन्दा कम हो । कम्पनीले अक्टोबरको बिक्री परिमाण सार्वजनिक गरेको छैन । यसअघि कम्पनीले अघिल्लो महिनाको बिक्री विवरण पछिल्लो महिनाको पहिलो तारिखमै सार्वजनिक गर्ने गथ्र्यो । यसले पनि कम्पनी कठिन अवस्थमा पुगेको संकेत गरेको छ ।

कम्पनीको भित्री स्रोतका अनुसार अक्टोबरमा नेटा ४ हजार ५०० युनिट मात्रै डेलिभरी भएको छ, जुन अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत कम हो । यसो हुनुका पछाडि विभिन्न कारण रहेको प्राप्त समाचारमा उल्लेख छ ।

चिनियाँ समाचार संस्था डुन्युजले नेटाको झेजियाङस्थित टोङसिआङ कारखानाले आधा महिनादेखि उत्पादन रोकेको जनाएको छ । यो नेटाको प्रमुख उत्पादन प्लान्ट हो । यसको वार्षिक उत्पादन क्षमता २ लाख युनिट छ । यसले विशेष गरी नेटा एल क्रसओभरहरु उत्पादन गर्छ ।

यो वर्ष नेटाले आफ्ना कर्मचारीको तलब पनि कटौती गरेको थियो । गत अक्टोबरमा कम्पनीका केही कर्मचारीले अघिल्लो महिनाको तलब समयमै नपाएको गुनासो गरेका थिए । यही बेला नेटाका उच्च तहका कर्मचारीको तलब ३० प्रतिशतले कटौती गरिएको थियो । अक्टोबर ३१ को एक औपचारिक जवाफमा नेटाले कर्मचारीलाई कम्पनीको सेयर दिने योजना सुरु गरेको जनाएको थियो । यस अन्तर्गत ५ प्रतिशत तलब कर्मचारीलाई सेयरका रुपमा दिने बताइएको थियो । नयाँ तलब योजना आन्तरिक रुपमा घोषणा गरिएको थियो ।

विगतमा सामाजिक सञ्जालमा निकै सक्रिय रहने नेटाका सीईओ झाङ योङ अक्टोबर ४ यता मौन छन् । विबो र टिकटकमा उनको अकाउन्ट २५ दिनदेखि अपडेट छैन ।
नेटा उत्पादन कम्पनी होजोन अटोको खुल घाटा चीनमा सन् २०२१ देखि २०२३ सम्म बढेको बढ्यै छ । कम्पनीले सन् २०२१ मा ४.८४ अर्ब युआन, २०२२ मा ६.६७ अर्ब युआन र २०२३ मा ६.८७ अर्ब युआन घाटा बेहोरेका थियो ।

होजोन अटोले गत जुनमा हङकङ अटो एक्सचेन्जमा सूचीकरणका लागि आवेदन दिएको थिगया । यसले हङकङ स्टकको आधिकारिक कोड पनि प्राप्त गरिसकेको छ ।
नेटाले आन्तरिक बजारमा समस्या झेलिरहे पनि बाह्य बजारले यसलाई बचाउन सक्ने पनि प्राप्त समाचारमा उल्लेख छ । नेटा मध्य एसिया, दक्षिण पूर्वी एसिया, ल्याटिन अमेरिका र दक्षिण अफ्रिकासम्मै पुगेको छ । यसले युरोपमा पनि प्रवेश गर्न खोजेको छ । तर युरोपेली युनियनको भन्सार दर नेटाको युरोप प्रवेशमा बाधक बन्न सक्ने आकलन गरिएको छ ।

होजोन अटोले थाइल्यान्डमा प्लान्ट स्थापना गरेर सन् २०२३ को नोभेम्बरदेखि ईभी उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय