
काठमाडौं– गत कात्तिकमा देशभर ९७ हजार १९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको संख्या घटेको हो । गत असोजमा १ लाख ४४८ कारोबार भएको थियो ।
घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ ३ हजार ३६२, हालसाबिक २ हजार ११४, रोक्कातर्फ २५ हजार ३० छन् ।
विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी ४ हजार २६६ घर जग्गाको कारोबार भएको छ । मालपोत कार्यालय सुनसरीमा तीन हजार एक सय १५, बेलबारीमा २ हजार ८२१, धनुषामा २ हजार १५८ वटा कारोबार भएका छन् ।
सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुंगामा १७ वटा कारोबार भएका विवरण प्राप्त भएको छ ।
सबैभन्दा बढी राजस्व संकलन गर्ने काठमाडौं उपत्यकाका मालपोत कार्यालयमध्ये कलंकीमा १ हजार ६४९ घरजग्गाको कारोबार भएको छ । भक्तपुर मालपोतमा २ हजार ३४८, डिल्लीबजार कार्यालयले ९३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले १ हजार ४२३ वटा कारोबार गरेको छ ।
विभागका अनुसार २०८० कात्तिकमा ७७ हजार १८५ र २०७९ कात्तिकमा ९७ हजार १९६ वटा घरजग्गा कारोबार भएको थियो ।
विभागका अनुसार यस वर्ष कात्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ राजस्व संकलन भएको छ । घरजग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व संकलनको प्रवृत्तिले देखाएको छ ।
गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा पनि गिरावट आएको हो । असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ बराबर राजस्व संकलन भएको थियो ।
विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ रुपैयाँ राजस्व संकलन भएको छ ।
मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार ७२०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६४५ र डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५४५ रुपैयाँ संकलन गरेका छन् ।
विभागका अनुसार मालपोत कार्यालयले चाबहिलले २१ करोड ४२ लाख ४६ हजार ९९२, कलंकीले १७ करोड ८ लाख ४४ हजार ७५१, साँखु कार्यालयले ४ करोड ७९ लाख ५४ हजार ९४२, मनमैजु कार्यालयले ५ करोड ५० लाख ९३ हजार ६३२, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार ६६५ रुपैयाँ राजस्व संकलन गरेको छ । मुलुकभर १३३ वटा मालपोत कार्यालय छन् ।