काठमाडौं– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा थियो । यस अवधिमा खुद पुँजीगत ‘ट्रान्सफर’ २ अर्ब रुपैया्रँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

पहिलो तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । त्यस्तै गत असार मसान्तसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३ महिनामा ९.४ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकको सञ्चिति १९ खर्ब ८८ अर्ब रुपैयाँ बराबर पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ बराबर कायम भएको छ । गत असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति र वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय