काठमाडौं– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले नेकपा (एमाले) छाडेको घोषणा गरेका छन् ।

खनालले फेसबुकमा स्टाटस लेख्दै अहिले आफू कुनै पनि पार्टीमा नरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’

उनले राष्ट्रघाती दोषीहरुलाई कानुनी कठघरामा पुर्याउन र राष्ट्रलाई महान् बनाउन आफ्नो सम्पूर्ण प्रयास जारी रहने पनि बताएका छन् । ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु,’ खनालले लेखेका छन् ।

खनाल कोभिडकालको चर्चित सांसद अपरहण काण्डमा विवादित व्यक्ति हुन् । २०७६ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याएपछि जनता समाजवादी पार्टी फुटाउन खनालसहित एमाले नेताहरु महेश बस्नेत, कृष्ण श्रेष्ठले लकडाउनबीच रातारात महोत्तरी पुगेर उक्त पार्टीका सांसद सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए ।

यस विषयलाई लिएर सांसद यादवले खनालविरुद्ध अपहरणको जाहेरी पनि दिन खोजेका थिए । तर प्रहरीले उक्त जाहेरी लिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय