
काठमाडौं– बिहीवार जिल्ला अदालत कास्कीको आदेशमा धरौटीमा हिरासतबाट मुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुनः हिरासतमा पठाएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।
आइतबार लामिछानेसँग बयान लिए पनि थुनछेक बहस नभएकोले उनलाई हिरासतमा पठाइएको हो।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने र सोमबार पुनः अदालतमा उपस्थित गराउने प्रहरीको भनाइ छ । लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए। आइतबार लामिछानेको बयान सकिए पनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएन।
लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। उनका वकिलहरूले पनि वकिल वा परिवारको जिम्मामा छाड्न भनेका थिए।
तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका हुन्। जिल्ला न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि लामिछानेले, श्रीमानको आदेश स्वीकार गर्छु भनेका थिए।