
काठमाडौं– चिनियाँ कम्पनी बाइट डान्सले सञ्चालन गरेको विश्वभर लोकप्रिय भिडियो सेयरिङ एप टिकटक अमेरिकामा चल्न छाडेको छ । बाइट डान्सले सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि नै एक सूचना जारी गरी अमेरिकामा टिकटक नचल्ने बनाएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ ।
छोटा भिडियोका लागि चर्चित एवं लोकप्रिय टिकटकको चिनियाँ स्वामित्व ६ महिनाभित्र बिक्री नगरे प्रतिबन्ध लगाउने गरी अमेरिकी संसद ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ले एक कानुन पारित गरेको थियो । अमेरिकी अदालतमा यसविरुद्ध मुद्दा पनि परेको थियो । अदालतले प्रतिबन्धको निर्णय सदर गरिदिएपछि टिकटकले सूचना जारी गरेर अमेरिकामा सेवा बन्द गरेको हो ।
न्युयोर्क टाइम्सका अनुसार अमेरिकी संघीय कानुनअनुसार आइतबारबाट टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो । तर, केही समयअघि टिकटकले सूचना जारी गरेर एप्लिकेसन नचल्ने बनाएको हो ।
‘अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन लागू गरिएको छ । यसको मतलब तपाईंले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न । हामी भाग्यशाली छौं कि राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि टिकटक पुनःस्थापना गर्न हामीसँग सहकार्य गर्ने संकेत गर्नुभएको छ। कृपया अपडेटका लागि पर्खनुस्,’ अमेरिकी प्रयोगकर्ताले टिकटक खोल्ने बित्तिकै यो सूचना आइरहेको छ ।
राष्ट्रपतिका रुपमा पदभार ग्रहण गर्नुअघि ट्रम्पले टिकटकलाई थप ९० दिन समय थप्न सक्ने बताएका थिए । सोमबारबाट उनले जिम्मेवारी सम्हाल्दैछन् । एनबीसी न्युजसँग कुरा गर्दै ट्रम्पले शनिबार भनेका थिए, ‘मलाई लाग्छ, टिकटकलाई थप ९० दिन समय दिने निर्णय उपयुक्त हुन सक्छ, मैले त्यो निर्णय गरेँ भने सोमबार घोषणा गर्नेछु ।’
अमेरिकाले टिकटक बन्द गर्नु पछाडि राष्ट्रिय सुरक्षामा चुनौतीलाई कारण देखाएको थियो । अमेरिकामा सरकारी कर्मचारीका लागि पहिल्यैदेखि टिकटक प्रतिबन्धित थियो । अमेरिकासहित पश्चिमा मुलुकहरुले टिकटकले प्रयोगकर्ताको विवरण चीन सरकारलाई दिने गरेको आरोप लगाउने गरेका छन् ।