काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना देशमा उत्पादित सामग्री आयातमा थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेपछि छिमेकी क्यानडा र मेक्सिकोले अमेरिकी वस्तु आयातमा पनि त्यस्तै कर लगाउने घोषणा गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १५५ अर्ब डलर बराबरका वस्तु आयात गर्दा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए ।

बदलामा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले अमेरिकी वस्तुमा पनि आफ्नो मुलुकले त्यस्तै प्रकारको शुल्क लगाउने बताएकी थिइन्।
चीनले व्यापार युद्धमा कसैले नजित्ने भन्दै राष्ट्रिय स्वार्थ रक्षामा आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ ।

ह्वाइटहाउसका अनुसार राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशले क्यानडा र मेक्सिकोबाट आयात गरिने वस्तुमा २५ प्रतिशत र चीनबाट आयात गरिने वस्तुमा १० प्रतिशत शुल्क लगाएको छ ।

तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क घोषणा गरिएको छ ।

सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्कालीन आर्थिक शक्तिको प्रयोग गरेको उल्लेख गरेका छन् ।

अर्थविद्हरूले राष्ट्रपति ट्रम्पको कदमले अमेरिकामा खाद्यान्न र इन्धनको मूल्य वृद्धि हुन सक्ने र क्यानडा र मेक्सिकोलाई मन्दीतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय