काठमाडौं– संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहायता संस्था युएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएआइडी) बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको बताएपछि यसको भविष्य अन्योलमा परेको छ । मस्क अमेरिकी संघीय सरकारको पुनर्संरचना गर्ने जिम्मेवारी पाएका व्यक्ति हुन् ।

वासिंगटनस्थित युएसएआइडीको मुख्यालय सोमबार बन्द गरिएको छ भने यसका कर्मचारीहरुलाई घरै बस्न भनिएको छ ।

युएसआइडीको लोगो र सहायता कार्यको फोटो भवनका भित्ताबाट हटाइएका छन् भने यसको वेबसाइट र सामाजिक सञ्जालका एकाउन्ट अँध्यारो देखिएका छन् । युएसएआइडीको वेबसाइटको संक्षिप्त संस्करण र विदेश मन्त्रालयको वेबसाइटमा देखिएको छ ।

लामो समयदेखिको अन्तर्राष्ट्रिय सहायता एजेन्सी युएसएआइडी मस्क र ट्रम्पको संघीय सरकार सुधार योजनाको तारो बनेको छ । ट्रम्प र उनका सहयोगीहरु अमेरिकी कंग्रेसले स्वतन्त्र निकायको रुपमा स्थापना गरेको युएसआइडीलाई स्पष्ट पक्षपाती रहेको र यसले डेमोक्रेट्सलाई बढी सहयोग गर्ने गरेको बताउँछन् ।

युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ। सन् २०२३ देखि २०२९ सम्ममा युएसएआइडीले नेपालमा धेरै कार्यक्रम अघि बढाउने गरी सम्झौता गरेको थियो। सरकार र युएसएआइडीबीच विकास लक्ष्यसम्बन्धी भएको औपचारिक सम्झौताअनुसार कुल ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रूपैयाँ) बराबरका कार्यक्रम सञ्चालनमा छन्। यसमध्ये ४० करोड डलर (५५ अर्ब रूपैयाँभन्दा बढी) बराबरको कार्यक्रम स्वीकृत भएको छ।

यी कार्यक्रम अब पुनः सञ्चालन हुनेमा सरकारी अधिकारीहरू आशावादी छैनन्।

यसअघि युएसएआइडीलाई मस्कले आपराधिक संगठन र ट्रम्पले कट्टर पागलहरुद्वारा सञ्चालित संस्था भनेका थिए । ट्रम्पले यसको भविष्यबारे विचार गरिरहेको पनि बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय