रियाद– अमेरिका र रुसका उच्चस्तरीय कूटनीतिज्ञहरू मंगलबार साउदी अरबमा भेटेका छन् । त्यहाँ उनीहरूका बिग्रेका सम्बन्ध सुधार्ने र युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको सुरुआत गर्ने वार्ता हुँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि दुई देशबीच हुन लागेको पहिलो उच्चस्तरीय छलफलबाट ठोस परिणाम निस्किने सम्भावना भने निकै कम रहेको दुवै पक्षको बुझाइ छ ।

तैपनि यी दुई देशबीच वार्ताहरू भइरहेकोले क्रेमलिनप्रति संयुक्त राज्य अमेरिकाको हालैको पहलपछि युक्रेन र युरोपमा चिन्ता उत्पन्न गरेको छ ।

साउदी राजधानीको दिरियाह दरबारमा बिहान अमेरिका र रुसी कूटनीतिज्ञहरूबीच बैठक सुरु भएको रियादका पत्रकारहरूले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रियादमा भएका छलफलहरूमा किएभलाई निमन्त्रणा नगरिएको बताउनुभयो । युरोपेली नेताहरू नयाँ ट्रम्प प्रशासनको नाटकीय मोडलाई कसरी प्रतिक्रिया दिने भन्ने आपत्कालीन छलफलका लागि सोमबार पेरिसमा भेटेका थिए ।

ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्भावित शिखर सम्मेलनको तयारी पनि कार्यसूचीमा पर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले युक्रेनमा तीन वर्ष लामो संघर्षको द्रुत समाधानका लागि दबाब दिइरहेका छन् भने रुसले उनको पहललाई छुट प्राप्त गर्ने अवसरका रूपमा हेरिरहेको छ ।

युक्रेनी समाचार एजेन्सीहरूका अनुसार जेलेन्स्कीले किएभलाई रियादमा भएको वार्ताको बारेमा ‘केही जानकारी नभएको’ र ‘हामीबिना हाम्रो बारेमा कुनै निर्णय वा सम्झौतालाई मान्यता दिन नसक्ने’ बताएका छन् ।

उनले सामाजिक सञ्जालमा कुनै पनि शान्ति सम्झौतामा ‘बलियो र विश्वसनीय’ सुरक्षा प्रत्याभूति समावेश हुनुपर्ने बताए । शान्ति सम्झौतामा ‘बलियो र विश्वसनीय’ सुरक्षा प्रत्याभूतिका लागि फ्रान्स र बेलायतले आह्वान गरेका छन् तर सबै युरोपेली शक्तिहरूले समर्थन गरेका छैनन् ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले युक्रेनमा शान्ति प्रयासको स्वागत गर्दै एकै समयमा सबै पक्ष र सरोकारवालाहरूले वार्तामा भाग लिनसक्ने अपेक्षा गरेका छन् ।

बैठकअघि रुसले पुटिन र ट्रम्प ‘असामान्य सम्बन्ध’बाट अगाडि बढ्न चाहेको र युरोपेलीहरूलाई कुनै पनि वार्ताको टेबलमा बस्न ठाउँ नभएको बताएको थियो ।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र पुटिनका वरिष्ठ सहयोगी युरी उसाकोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका दूत स्टिभ विटकोफसँग भेटवार्ता गर्नेछन् ।

सम्भावित ट्रम्प–पुटिन शिखर सम्मेलन
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई वार्ता ‘मुख्य रूपमा रुस–अमेरिकी सम्बन्धहरूको सम्पूर्ण संरचना पुनःस्थापना गर्नमा समर्पित’ हुने साथै ‘युक्रेनी समाधानका सम्भावित वार्ताहरू र दुई राष्ट्रपतिबीच बैठक आयोजना गर्ने’ बारे छलफल हुने बताए ।

वर्षौंदेखि युरोपमा नाटोको उपस्थिति फिर्ता लिन खोजिरहेको मस्कोले युक्रेनको सम्भावित युद्धविराम मात्र नभई व्यापक सुरक्षा मुद्दाहरूमा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न चाहेको स्पष्ट पारेको छ ।

सन् २०२२ फेब्रुअरीमा आक्रमण गर्नुअघि पुटिनले सैन्य गठबन्धनलाई पूर्वका धेरै सदस्य देशहरूबाट आफ्ना सैनिक, उपकरण र आधारहरू हटाउन माग गरेका थिए । ती मुलुक शीत युद्धको समयमा मस्कोको प्रभाव क्षेत्रमा थिए ।

कुनै पनि वार्ताले युक्रेन युद्ध रोक्ने सम्झौतामा पुग्ने सम्भावना अस्पष्ट छ । रुस र अमेरिका दुवैले यो बैठकलाई सम्भावित रूपमा लामो प्रक्रियाको सुरुआतको रूपमा हेरेका छन् ।

‘मानिसहरूले यसलाई विवरणको बारेमा वा कुनै प्रकारको वार्तामा अगाडि बढाउने कुराको रूपमा हेर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले भने ।

रुसका उसाकोभले सरकारी मिडियालाई वार्ताले ‘युक्रेनमा वार्ता कसरी सुरु गर्ने’ बारे छलफल गर्ने बताए । युक्रेन र रुस दुवैले क्षेत्रीय छुटहरू अस्वीकार गरेका छन् र पुटिनले गत वर्ष किएभलाई अझै बढी क्षेत्रबाट आफ्ना सैनिकहरू फिर्ता लिन माग गरेका थिए ।

जेलेन्स्की मंगलबार राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग द्वन्द्वबारे छलफलका लागि टर्कीमा थिए । उनी बुधबार साउदी अरब जाने कार्यक्रम छ ।
उनका प्रवक्ताका अनुसार उनले अमेरिकी वा रुसी प्रतिनिधिमण्डलसँग वार्ता गर्ने योजना बनाएका छैनन् ।

जेलेन्स्कीले गत हप्ता किएभ र यसका सहयोगीहरूको युद्ध अन्त्य गर्ने सामान्य स्थिति भएपछि मात्र उहाँ पुटिनलाई भेट्न तयार रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय