काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन चौथोपटक स्पष्टीकरण सोधेका छन् ।
कुलमान हटाउने प्रस्ताव बोकेर निस्किए पनि सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस गर्न हच्केका मन्त्री खड्काले त्यसको भोलिपल्टै घिसिङलाई चौथोपटक स्पष्टीकरण सोधेका हुन् ।
खड्काले मंगलवार मन्त्रीस्तरीय निर्णय गर्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न घिसिङलाई पत्र पठाएका हुन् । उनले यसअघि घिसिङलाई २२ असोजमा १५ बुँदे, १३ कात्तिकमा ६ बुँदे र २२ पुसमा ९ बुँदे स्पष्टीकरण सोधेका थिए । घिसिङले यसअघि दिएको जवाफ वस्तुगत र चित्तबुझ्दो नभएको मन्त्री खड्काको भनाइ छ ।
स्पष्टीकरण पत्रमा सरकारको सहमतिविनै भारतको बिहार तथा उत्तर प्रदेशबाट आयात गर्ने विद्युत् महशुल बढाउने सहमति किन गरेको भनेर सोधिएको छ । घिसिङले भने सरकारको मौखिक सहमति लिएरै महशुल बढाएको प्रतिक्रिया दिएका छन् ।
प्राधिकरणले प्रस्ताव गरेको महशुल उचित नलागे सरकारले बोर्ड बैठकबाट पारित नगराउन सक्ने उनले बताए ।
घिसिङले पछिल्लोपटक २८ पुसमा पेस गरेको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको तथा मन्त्रालय र उनीबीच ५ माघ २०७८ मा भएको कार्यसम्पादन सम्झौता तथा कार्यकारी निर्देशकको सेवाको शर्त तथा सुविधासम्बन्धी विनियमावली बमोजिम कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भनेर सोधिएको छ ।









