वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन्।
ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र आफूबीच चर्काचर्की भएको केही दिनपछि ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने आदेश दिएका हुन् ।
अमेरिकी अधिकारीहरूका अनुसार युक्रेन र रुसबीच भइरहेको लडाइँ रोक्न अमेरिकाले दिएको सैन्य सहायताले योगदान गरिरहेको छ वा छैन भन्ने कुराको समीक्षा गरिने छ।
युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहयोग गर्दै आएको अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण हतियारहरु दिएको छ ।
केही दिनअघि युक्रेनी राष्ट्रपति जेलेन्स्की र उनका अमेरिकी समकक्षी ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भनाभन भएको थियो।
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन चाहेको आरोप लगाएपछि जेलेन्स्की चिढिएका थिए।
सोमवार फेरि ट्रम्पले जेलेन्स्कीको आलोचना गर्दै शान्ति सम्झौताको समर्थन नगरे उनी लामो समय पदमा नरहन सक्ने टिप्पणी गरेका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युक्रेनलाई दिइने सैन्य सहायता रोक्का गरिएको विषयमा एउटा वक्तव्य सार्वजनिक गरेको बिबिसीले जनाएको छ ।









