बरहथवा (सर्लाही)– बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत ९ वर्षदेखि केराखेतीमा संलग्न छन् । उनले साढे ७ बिघा खेतमा केराखेती गरेका छन् । ‘मेहनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ,’ उनले सुनाए ।

विगतमा माओवादी आन्दोलनमा संलग्न उनी शान्ति वार्तापछि परिवार पाल्न भारतको बाटो हुँदै मलेसिया पुगे । ५ वर्ष त्यहाँ काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएउका उनले पछि छिमेकीको खेत भाडामा लिएर केराखेती सुरु गरेको सुनाए ।

केराखेतीले सम्मानजनक जीवन दिएको उनको कथन छ । पुर्ख्यौली सम्पत्तिका नाममा तीन कट्ठा जग्गा पाएका उनले १० वर्षमा १५ कट्ठा खेत र दुई ठाउँमा घडेरी जोडेको बताए । तीन सन्तानलाई उनीहरूले चाहेअनुसार शिक्षा हासिल गर्न केराखेतीको आम्दानी पुगेको उनको भनाइ छ ।

उनले एक छोरालाई फार्मेसी पढाउनुभएको छ । दुई सन्तान उच्च शिक्षा अध्ययनरत छन् ।

उनको केराखेती अहिले साढे ८ बिघामा छ । उनले प्रतिकट्ठा वार्षिक ४ हजार ८०० देखि ६ हजार ५०० रुपैयाँसम्म भाडा तिर्छन् । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन सुरु हुन्छ । ९ हजार २०० बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा १०० बोटसम्म केरा क्षति हुने गरेको उनको भनाइ छ । सुरुमा खनजोत, मलखाद, मजदुर गरी २२ लाख लगानी गरेको खेतीबाट १४ महिनामा ३१ लाख बढीको केरा बिक्री गर्ने उनले सुनाए ।

‘प्रतिघरीमा ९० देखि १०० कोसा केरा फल्छ,’ उनले भने, ‘मैले मालभोग र नाइन ग्रेड केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा २०० कोसासम्म फल्छ,’ प्रतिकोसा ३ रुपैयाँ ५० पैसाका दरले कम्तीमा ३५० देखि ५०० रुपैयाँसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उनले जानकारी दिए। यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।

‘बजारको मागअनुसार केरा दिन नसकेको उनले बताए । हप्तामा २५० घरीभन्दा धेरै केरा पसलेले माग्नुहुन्छ,’ उनले भने, ‘६–७ बिघामा गरेको खेतीले पुर्याउन गाह्रो छ । थोरैथोरै गरेर दिने गरेको छु,’ उनले भने । पैसा दैनिक पाइने भएपछि खेती गर्न उत्साह थपिने गरेको उहाँ सुनाउनुहुन्छ । किसान बलले केराखेतीमा पाँच जनालाई नियमितजस्तै काम दिएका छन् । पात काट्ने, गोडमेल गर्ने, मलजल गर्ने, केरा काट्नेलगायत काम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय