
काठमाडौं– आइफोन जुन देशको ब्रान्ड हो सोही देशमा उत्पादन गर्न परे त्यसको मूल्य अहिलेको तुलनामा तेब्बर हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले प्राविधिक विश्लेषकहरुलाई उद्धृत गर्दै तयार गरेको रिपोर्टमा उल्लेख गरेका छन् । डोनाल्ड ट्रम्पको करनीतिका कारण चीनमै बनेका आइफोनको मूल्य पनि ३० प्रतिशतले बढ्ने उनीहरुको भनाइ छ ।
आइफोन ब्रान्डको स्वामित्व रहेको कम्पनी एप्पलले संयुक्त राज्य अमेरिकामै आइफोन उत्पादन गरेको खण्डमा यसको मूल्य ३ हजार ५०० अमेरिकी डलर (करिब ४ लाख ८५ हजार रुपैयाँ) सम्म पुग्न सक्ने प्राविधिकहरुको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य मुलुकमा उत्पादित सामानमा भारी मात्रामा कर लगाएपछि अमेरिकन ब्रान्डका सामानको उत्पादन अमेरिकामै भएको खण्डमा मूल्य के कति पुग्ला भन्ने अनुमानबीच यस्तो विश्लेषण बाहिर आएको छ ।
अहिलेसम्म आइफोन चीनलगायत अन्य मुलुकमा रहेका प्लान्टमा निर्माण भई विश्व बजारमा बिक्री वितरण भइरहेको छ । अमेरिकाले चीनमा उत्पादित सामानमा १०४ प्रतिशतसम्म भन्सार लगाउन थालेपछि अमेरिकामा आइफोनको मूल्य अहिलेको तुलनामा दोब्बरभन्दा माथि पुग्ने देखिन्छ ।
यो अवस्थामा अमेरिकामै आइफोन उत्पादन गर्ने हो भने यसको मूल्य अहिलेको तुलनामा तेब्बरसम्म पर्न सक्ने वेडबुस सेक्युरिटिजका प्राविधिक अनुसन्धान प्रमुख ड्यान आइभ्सले सीएनएनसँगको कुराकानीमा बताएका छन् । अहिले आइफोनको मूल्य १ हजार अमेरिकी डलर छ ।
अमेरिकामै आइफोन उत्पादन गर्न एसियामा रहेको यसको जटिल उत्पादन इकोसिस्टमलाई अमेरिकामा स्थापित गर्नुपर्ने हुन्छ । उनका अनुसार एप्पललाई आफ्नो आपूर्ति शृङ्खलाको १० प्रतिशत मात्र अमेरिकामा सार्न पनि लगभग ३० अर्ब अमेरिकी डलर लगानी र तीन वर्षको समय लाग्नेछ ।
आइफोनका कलपुर्जाहरूको निर्माण र एसेम्बलको काम दशकौंदेखि एसियाली मुलुकमा हुँदै आएको छ । अमेरिकी कम्पनीहरूले उच्च मुनाफा दिने मुख्यतया सफ्टवेयर विकास र उत्पादन डिजाइनमा ध्यान केन्द्रित गरेका छन् ।
दोस्रो पल्ट अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको उदय भएदेखि एप्पलको सेयर मूल्य २५ प्रतिशत हाराहारी घटेको छ । चीन र ताइवानमा निर्भर यसको विस्तारित आपूर्ति शृङ्खलामाथि नयाँ कर नीतिले सन्देह पैदा गराएको छ । हालसम्म विश्व बजारमा बिक्री हुने आइफोनको ९० प्रतिशत चीनमा एसेम्बल हुँदै आएका छन् ।
आइफोनका चिपहरू ताइवानमा उत्पादन हुन्छन् भने स्क्रिन प्यानल दक्षिण कोरियाली कम्पनीले आपूर्ति गर्छन् । केही अन्य अवयवहरु चीनमा बन्छन्, र एसेम्बल पनि प्रायः चीनमै हुने गरेको छ ।
गत फेब्रुअरीमा एप्पलले आगामी चार वर्षभित्र अमेरिकामा ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । यसलाई ट्रम्प प्रशासनले चीनमाथि लगाएको थप करबाट बच्न तथा आफ्नो उत्पादन चीनबाहिर विस्तार गर्ने प्रयास मानिएको छ ।
रोसेनब्ल्याट सेक्युरिटिजले एप्पलले उच्च करको सम्पूर्ण लागत ग्राहकमाथि थोपरेको खण्डमा आइफोन ४३ प्रतिशत सम्म महँगो हुन सक्ने बताएको छ ।
काउन्टरपोइन्ट रिसर्चका उपाध्यक्ष नील शाहले आइफोनको मूल्य लगभग ३० ले बढ्न सक्ने अनुमान गरेका छन् । तर यो कुरा आइफोन कहाँ बनेको हो भन्नेमा निर्भर हुने उनको भनाइ छ ।
एप्पलले यसअघि आफ्ना उत्पादन प्लान्टलाई चीनबाट भारत र ब्राजिलमा लैजान खोजेको थियो । कम्पनीले फोनको लागत कम राख्न कर अवरोध कम भएका देशमा मुख्य कलपुर्जा उत्पादन सार्न सक्छ । ट्रम्प प्रशासनले भारतमा उत्पादित वस्तुमा २६ प्रतिशत र ब्राजिलमा उत्पादितलाई १० प्रतिशत मात्र कर लगाएको छ ।