
काठमाडौं– कानुन व्यवसायीहरुको संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बिहीवार सार्वजनिक मतपरिणामअनुसार उनी २ हजार ४३१ मतान्तरले निर्वाचित भएका हुन् ।
नेपाल बार एसोसिएसन निर्वाचन २०८१, का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मिश्रले ५ हजार ५२ र अर्का प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए ।
नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियो ।
निरालाका अनुसार उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेस प्रदेशमा अजय शंकर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ निर्वाचित भएका छन्।
महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर निर्वाचित हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन् ।
सदस्यहरूमा चिरञ्जीवी तिलक्यानी (दलित), सूर्यकुमार यादव (मधेसी मुस्लिम काठमाडौं उपत्यका बाहिर), रिङ्कुकुमारी यादव (मधेसी मुस्लिम खुला), राजकुमार श्रेष्ठ (आदिवासी जनजाति काठमाडौं उपत्यका बाहिर), मंगलसुन्दर शिल्पकार (आदिवासी जनजाति खुला) इन्दिरा आचार्य (महिला काठमाडौं उपत्यका बाहिर), किरण पौडेल (काठमाडौं उपत्यका बाहिर) र रञ्जिता कार्की (महिला खुला) निर्वाचित भए ।
बारको नयाँ कार्यसमितिको खुला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनाली निर्वाचित भएका छन् । बारको निर्वाचनमा २ हजार ९९७ मतदातामध्ये ७ हजार ९९५ (८० प्रतिशत) मतदान गरेका थिए । २५ सदस्यीय कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।