काठमाडौं– नेपाल टेलिकमले दसैं, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भ्वाइस प्याकेजसहितको ‘दसैं–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।

कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ ‘फाइबर टु द होम (एफटिटिएच) प्याकेज लिने गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भ्वाइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन् ।

टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार यही असोज २५ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म नयाँ एफटिटिएच प्याकेज जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्क मिनाहा गरिनेछ । त्यस्तै, १००, १५० र २०० एमबिपिएस क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउने उनले जानकारी दिए । यसअनुसार ग्राहकले १२ महिनाको शुल्कमा १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् । बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म उपलब्ध हुनेछ ।

भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि १ हजार रुपैयाँ छुटको सुविधा यसअघि उपलब्ध रहेको कम्पनीले जनाएको छ । मोबाइल डाटामा ४९९ र ६९९ रुपैयाँका प्याकेजअन्तर्गत जिएसएम मोबाइल सेवाका ग्राहकका लागि ४९९ रुपैयाँमा पाँच जिबी दैनिक उच्चगतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा १० जिबी दैनिक उच्चगतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज उपलब्ध हुनेछन् ।

कम्पनीका अनुसार ४९९ को प्याकेजमा प्रतिदिन पाँच जिबी डाटा खपत भएपछि बाँकी समयावधिमा दुई एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ । त्यसैगरी, ६९९ को प्रिमियम प्याकेजमा प्रतिदिन १० जिबी डाटा खपत भएपछि बाँकी समयावधिमा तीन एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताए ।

टेलिकमले भ्वाइस तथा सन्देश सेवामा पनि सहुलियत दरका प्याकेज ल्याएको छ । यसअन्तर्गत २०० मा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने १ हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ । त्यस्तै, ९९ मा आफ्नै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि खरिद गर्न सकिनेछ । यी मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ ।

मोबाइलबाटै प्याकेज खरिद गर्न सकिने
कम्पनीका अनुसार कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले उक्त अफरअन्तर्गतका सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय