काठमाडौं– आर्थिक वर्ष २०८२–८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २० खर्ब ८१ अर्ब १५ करोड रहेको मुलुकको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई उक्त आकारमा पुगेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत आवमा समग्र वैदेशिक व्यापारमा वृद्धि भएजस्तै व्यापार घाटासमेत बढेको छ । अघिल्लो आवको तुलना व्यापार घाटा १६ दशमलव ६३ प्रतिशतले बढेको छ । गत आवमा मुलुकको व्यापार घाटा बढेर १७ खर्ब ८१ अर्ब ८ करोड पुगेकामा अघिल्लो आवमा यो रकम १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ थियो ।
विभागद्वारा सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८१–८२ को तुलनामा गत आर्थिक वर्षमा आयात १६ दशमलव २० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात भएकामा गत आवमा २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएकामा गत वर्ष ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०८१–८२ मा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ६९ प्रतिशत रहेकामा यस्तो हिस्सा गत आवमा सामान्य बढेर ८६ दशमलव ९३ प्रतिशत पुगेको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३ दशमलव ३१ प्रतिशतबाट घटेर गत आवमा १३ दशमलव ०७ प्रतिशतमा सीमित भएको छ ।
सार्वजनिक विवरणअनुसार नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको छ । गत आर्थिक वर्षमा १ खर्ब ७२ अर्ब ४२ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा रहेको छ । जसअन्तर्गत १ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।
यसैगरी, पेट्रोल ७७ अर्ब २६ करोड, एलपी ग्यास ६० अर्ब २८ करोड, फलाम तथा स्टिल उद्योगमा प्रयोग हुने अर्धप्रशोधित फलाम ५८ अर्ब ५२ करोडको तथा स्मार्टफोन ४८ अर्ब ६९ करोड रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ ।
त्यस्तै, गत आवमा नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा बढी रहेको छ । विभागद्वारा सार्वजनिक तथ्यांकअनुसार स्वदेशबाट १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ । यसैगरी अलैंची १२ अर्ब ६४ करोड, ऊनीको गलैंचा १० अर्ब ३८ करोड, सूर्यमुखी तेल ८ अर्ब ९४ करोड र जुटका काँचो कपडा ७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
गत वर्ष छिमेकी मुलुक भारतबाट मात्रै १२ खर्ब १० अर्ब ६० करोड रुपैयाँको वस्तु आयात गरेको छ भने २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँको निर्यात गरेको छ । यसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै ९ खर्ब ५१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रहेको देखिन्छ ।
त्यस्तै, नेपालले चीनबाट ४ खर्ब २५ अर्ब २४ करोड रुपैयाँका वस्तु आयात गरेकामा १ अर्ब ८९ करोड रुपैयाँको वस्तु मात्रै निर्यात गरेको छ । चीनसँगको नेपालको व्यापार घाटा ४ खर्ब २३ अर्ब ३५ करोड रुपैयाँको छ । सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी वीरगञ्ज नाकाबाट ९ खर्ब ८६ अर्ब ४३ करोड रुपैयाँ अर्थात् कुल आयातको ४७ दशमलव ०५ प्रतिशत बराबरको वस्तु आयात भएको छ ।
त्यस्तै, भैरहवा नाकाबाट ३ खर्ब ४ अर्ब १७ करोड (१४ दशमलव ५१ प्रतिशत), विराटनगर नाकाबाट २ खर्ब ४१ अर्ब ९६ करोड (११ दशमलव ५४ प्रतिशत) र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट २ खर्ब ३ अर्ब ५१ करोड (९ दशमलव ७१ प्रतिशत) रुपैयाँ बराबरका वस्तु आयात भएका छन् ।
निर्यातमा पनि वीरगञ्ज नाका अग्रस्थानमा छ । यहाँबाट १ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ अर्थात् कुल निर्यातको ३६ दशमलव ४३ प्रतिशत बराबरका वस्तु विदेश निर्यात भएको छ । त्यस्तै विराटनगर नाकाबाट ८८ अर्ब ७२ करोड (२८ दशमलव १४ प्रतिशत) र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट ३७ अर्ब ९४ करोड रुपैयाँ (१२ दशमलव ०३ प्रतिशत) बराबरका वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।









