त्रिशूली (नुवाकोट)– नुवाकोटको विदुर नगरपालिका–५, देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरी देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले एक्रोब्रिज जडान गरिरहेको छ ।
त्रिशूली बाढीको बहाव तादीमा पसेर उक्त स्थानका दुई पक्की पुल बगाएसँगै नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो ।
नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ‘ब्रिजिङ युनिट’ मार्फत निर्माण भइरहेको पुल पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको पुल निर्माणको नेतृत्व गरिरहेका सेनानी चिरिञ्जीवी चौलागाईंले जानकारी दिए ।
नुवाकोटको पाँच स्थानमा पुल राख्न अध्ययन भएकामा देवीघाट जडानलगत्तै वेत्रावतीमा एक्रोब्रिज जडान गरेर बाढीका कारण विच्छेद भएको नुवाकोट र रसुवाको यातायात सम्पर्क पुनः स्थापना गर्ने योजना छ ।
‘पुल निर्माणका लागि पुरानै जिप प्रयोग गर्न सक्ने अवस्था र धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटबाट सदरमुकाम विदुरसँग आउजाउ सञ्चालन गराउन पहिलो प्राथमिकतामा देवीघाटमा पुल निर्माण थालिएको छ,’ उनले भने, ‘शनिबारदेखि निर्माण सुरु भएको पुल पाँच दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५५ जनाको टोली चौबिसै घण्टा कार्यक्षेत्रमा खटिएको छ ।’
नेपाली सेनासँग धादिङको गजुरीस्थित भैरव गणमा तीन थान मौजुदा राखिएको पुल नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा आउजाउ सञ्चालन गराउन प्रयोग गरिने सेनाले जनाएको छ । सेनासँग ७५ मिटर दूरीका तीन थान पुल मौज्दात राखिएको थियो ।
देवीघाटमा निर्माण थालिएको पुल ५७.५ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको छ । बेलीब्रिजभन्दा एक्रोब्रिज गुणस्तरीय र धेरै भारवहन क्षमताको रहने सेनानी चौलागाईंले जानकारी दिए । उनका अनुसार अहिले निर्माण थालिएको पुलले ७० टन भारवहन क्षमता बहन गर्न सक्नेछ ।
‘बेलीब्रिजको प्रविधिलाई परिमार्जन गरेर बनाइएको आधुनिक अमेरिकी रूप भएकाले एक्रोब्रिज थप तीन गुणा बढी बलियो र टिकाउ हुनेछ,’ उनले भने, ‘उच्च गुणस्तरको ग्याल्भानाइज्ड अमेरिकी स्टिल र बलिया स्टिलका डेक प्रयोग गरिएको हुँदो ठूलो भारवहन क्षमतासहित चौडाइ फराकिलो बनाउन सकिनेछ ।
पुल निर्माणका लागि आवश्यक सामग्री गजुरीबाट काठमाडौं हुँदै नुवाकोट ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानीमा समस्या देखिएको छ । कार्यस्थलमा निर्माण सामग्री आउन र नियमित काम गर्न कुनै अवरोध नभए पाँच दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटबाट सेनानीको नेतृत्वमा ५५ जना प्राविधिक खटिएका छन् ।









