काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनमा मारिएका व्यक्तिहरुप्रति श्रद्धा व्यक्त गरेका छन् । ओली नै प्रधानमन्त्री रहेको बेला २०८२ भदौ २३ गते सरकारी गोलीले एकै दिन ४५ जनाको ज्यान लिएको थियो । शान्तिपूर्ण आन्दोलनमा एकै दिन यति धेरै मानिस सरकारी गोलीले मारेको यो नेपालको इतिहासकै पहिलो घटना थियो ।
उनले भदौ २३ र २४ गते भएका घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले आज एक प्रेस वक्तव्यमार्फत भदौ २३ गतेको युवा प्रदर्शनका क्रममा गोली लागी ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । उनले त्यसपछिका घटनामा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग प्रस्तुत गर्नु स्वाभाविक भएको उल्लेख गर्दै संविधानले शान्तिपूर्ण रूपमा भेला हुने, विरोध गर्ने तथा लोकतान्त्रिक माध्यमबाट सरकार गठन, पुनर्गठन र परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको बताएका छन् ।
आफू नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि आयोग गठन गर्ने, सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउने, घाइतेको निःशुल्क उपचार तथा पीडितपरिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको स्मरण गर्दैै अध्यक्ष ओलीले उक्त दुःखदायी घटनाको नैतिक जिम्मेवारी लिई तत्कालीन गृहमन्त्रीले राजीनामा दिएको पनि वक्तव्यमा उल्लेख छ ।
अध्यक्ष ओलीले गत भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र आक्रमणलाई दुःखदायी क्षणका रूपमा लिनुपर्ने उल्लेख गरेका छन् ।









