काठमाडौं– खाना पकाउने ग्यास अभावलाई लिएर ग्यास उद्योगीलाई पाता कस्नुपर्ने अभिव्यक्ति दिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीवार राजीनामा दिएकी छन्।
उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा मन्त्री यादवले ग्यास उद्योगीहरूलाई पाता कस्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीलाई पाता नकसेसम्म ग्यास अभाव सहज हुँदैन,’ उनले भनेकी थिइन् ।
उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् । ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २ वटा मात्रै भए पुग्छ’, उनले भनेकी थिइन् ।
उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सरकार र नेपाल आयल निगमले साविकको तुलनामा अझ बढी ग्यास आयात भइरहे पनि बजारमा अभाव टर्नुको सट्टा झन्झन् गहिरिँदै गएको छ । त्रिशूली बाढीले कृष्णभिरमा सडक बगाएपछि ग्यास अझ गहिरिएको छ ।
मन्त्री यादवले आफूले उद्योगीलाई कारबाही गर्न खोज्दा आफ्नै मन्त्रालयका कर्मचारीले नटेरेको र असहयोग गरेको पनि बताएकी थिइन् ।









