काठमाडौं– भदौ १० गते रसुवाको ल्हेन्देखोला र भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ९० अर्बको क्षति भएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन’ प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनरुत्थानका लागि ४ खर्ब ७३ अर्ब ५७ करोड लाग्ने अनुमान छ ।
प्रतिवेदनअनुसार ऊर्जा क्षेत्रतर्फ बाढीका कारण ७५९ दशमलव ०२५ मेगावाट क्षमताका १३ वटा जलविद्यत् आयेजना प्रभावित भएका छन् । जसमा २४ दशमलव ३६ मेगावाट क्षमताको पाँच वटा सोलार प्लान्टसमेत समावेश छन् । प्रतिवेदनमा बाढीका कारण एउटा सवस्टेसन, तीन वटा ट्रान्समिसन लाइन, एउटा स्विचयार्ड र एउटा वितरण लाइनमा क्षति पुगेको छ । ऊर्जा क्षेत्रमा कूल १ खर्ब ५१ अर्ब चार करोड बराबरको क्षति भएको छ । यो क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
घरायसी नवीकरणीय ऊर्जातर्फ पनि ठूलो क्षति पुगेको छ । जसमा २४५० वटा सोलार ‘होमसिस्टम’, २७४० बायोग्यास प्रणाली, १३ वटा संस्थागत सोलार प्रणाली, ९२ किलोवाटको लघुजलविद्युत्, १८५ ‘वाटरमिल्स’ र ७९५ वटा खाना पकाउने चुल्होमा क्षति पुगेको छ । घरायसी नवीकरणीय ऊर्जामा रु ५६ करोडको क्षति भएको छ भने यसको पुनरुत्थानका लागि १ अर्ब ६४ करोड रुपैयाँ लाग्ने देखिएको छ ।
बाढीका कारण ६९ किलोमिटर सडकमा क्षति पुगेको अनुमान छ । जसमध्ये ५५ किलोमिटरमा पूर्ण रूपमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । साथै पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा १५० मिटरमा क्षति पुगेको छ । सडक संरचनातर्फ २३ अर्ब ४२ करोडको क्षति पुगेको छ । उक्त क्षेत्रको पुनरुत्थानका लागि ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
बाढीका कारण ३३ वटा मोटरेबल पुल बगेका छन् भने चार वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । ३३ वटा झोलुंगे पुलमा पूर्ण क्षति पुगेको छ । पुलमा मात्रै ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ भने पुनरुत्थानका लागि १८ अर्ब १६ करोड आवश्यक पर्ने देखिएको छ ।
सञ्चार क्षेत्रमा टेलिकमका बिटिएस टावरमा क्षति पुगेको छ । एनसेलमा २७ वटा र नेपाल टेलिकमका ३८ वटा टावर प्रभावित भएका थिए । जसमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । बाढीका कारण १५२ दशमलव तीन किलोमिटर फाइभर केबल र दुई वटा ट्रान्समिसन प्रणाली, एफटिटिएच/आइएसपीमा प्रभाव परेको थियो । यो क्षेत्रमा करिब ६३ करोडको क्षति भएको र पुनरुत्थानका लागि ९४ करोड लाग्ने अनुमान छ ।
त्यसैगरी खानेपानी तथा सरसफाइ क्षेत्रमा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ भने यसको पुनर्निर्माणका लागि २ अर्ब ७ करोड रुपैयाँ लाग्ने अनुमान छ । बाढीका कारण १६ वटा इनार, ९८ वटा इनटेक, १६० वटा ट्यांकी, ४४३ दशमलव ९ किलोमिटर पाइपलाइन प्रभावित भएका छन् ।
प्रतिवेदनका अनुसार सिँचाइ, नदी संरक्षण क्षेत्रतर्फ ४ हजार ९९० मिटर नदी संरक्षण, ७०० हेक्टर सिँचाइ र ६ वटा जलसतह मापन केन्द्र प्रभावित भएका छन् । यस क्षेत्रमा करिब १ अर्ब ६५ करोड रुपैयाँको क्षति पुगेको छ भने पुनरुत्थानका लागि ४ अर्ब ९४ करोड आवश्यक पर्ने अनुमान गरिएको छ ।









