काठमाडौं– त्रिशूली नदीमा आएको विनाशकारी बाढीले कृष्णभिरमा सडक भत्काएपछि अवरुद्ध पृथ्वी राजमार्ग आइतबार साँझबाट आंशिक सञ्चालनमा आएको छ । साविकको बाटोभन्दा माथिबाट ट्र्याक खनेर राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
बुलडोजरले ट्र्याक सम्याउने र आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै आइतबार साँझबाट पृथ्वी राजमार्गआंशिक रुपमा सञ्चालन भएको बताइएको छ ।
तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको सडक विभागले जानकारी दिएको छ।
भित्तामा नालीको काम बाँकी भएकाले त्यो सकेर दुईतर्फी यातायात सञ्चालन गरिने बताइएको छ ।
आंशिक सञ्चालनमा ल्याउनुपूर्व खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो ।
कृष्णभिरमा सडक सम्पर्क बिच्छेद भएपछि काठमाडौं आउजाउ गर्ने यात्रुबाहक र मालबाहक सवारी साधनले वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । तर विकल्पमा प्रयोग गरिएका सडक साँघुरो भएकाले ठूला मालबाहक साधन गुड्न पाएका छैनन् ।









