काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन प्रयोगात्मक (ट्रायल) परीक्षामा शतप्रतिशत मिलाउनुपर्ने साबिकको व्यवस्था परिवर्तन भई ७० प्रतिशत मिलाए लाइसेन्स पाइने भएको छ । सरकारले लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मार्फत ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था मिलाएको हो ।

आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने उक्त निर्देशिका अनुसार दुईपांग्रे सवारी साधन मोटरसाइकल, स्कुटर र मोपेडेको ट्रायल अंकभार यसप्रकार छः

नयाँ निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर र मोपेडको ट्रायलमा अंग्रेजी अंक आठ घुमाउँदा २० अंक पाइन्छ ।

दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ का दरले अंक घट्छ तर ट्रायल फेल भइँदैन । दुईपटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा घुमाउने क्रममा सवारीको स्टार्ट बन्द भएमा फेल हुने व्यवस्था गरिएको छ ।

साँघुरो फलेकको लागि १० अंक दिइएको छ । साँघुरो फलेक पार गर्ने क्रममा खुट्टाले भुइँ टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्केमा पनि अनुत्तीर्ण हुनेछ ।

निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ, तोकिए अनुसार युटर्नमा घुमाउन नसके १० अंक घट्छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घट्छ । ट्राफिक लाइट बल्दा रोकिनुपर्ने भनी तोकिएको अंकित रेखा छोएको खण्डमा अनुत्तीर्ण हुनेछ ।

ट्राफिक संकेतको लागि १५ अंकभार छ । ट्राफिक संकेत पालना नगरे १५ अंक घट्छ । उबडखाबडको अंकभार १५ छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अकं घट्छ । एकभन्दा बढीपटक स्टार्ट बन्द भए अनुत्तीर्ण भएको मानिने छ ।

त्यसैगरी, उकालोको अंकभार २० तोकिएको छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ । उल्लेखित गल्तीहरुमा कटौती हुने अंक घटाउँदा ७० पुगेको खण्डमा दुईपांग्रेको लाइसेन्स पाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय