नयाँ दिल्ली— भारतले नेपालसहित ६ वटा मुलुकमा बुधबारबाट कोरोनाविरोधी खोप पठाउने भएको छ ।

टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचार अनुसार भारतले नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेचेल्लेसमा बुधबारबाट खोप पठाउन सुरु गर्ने जनाएको छ ।

भारतीय परराष्ट्र मन्त्रालयले आन्तरिक मागलाई ध्यानमा राख्दै ती साझेदार मुलुकहरुमा चरणबद्ध रुपमा खोप पठाउने जनाएको छ । नयाँ दिल्लीले श्रीलंका, अफगानिस्तान र मौरिससबाट उक्त खोप अनुमोदन भएको जानकारी पर्खिरहेको पनि समाचारमा उल्लेख छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक र प्रमुख साझेदार मुलुकबाट भारतमा उत्पादित खोप आपूर्तिका लागि थुप्रै अनुरोध आएको जनाएको छ ।

‘ती अनुरोधहरुको जवाफ र यो महामारीविरोधी लडाइँको लागि भारतको खोप उत्पादन तथा आपूर्ति क्षमताको उपयोग गर्ने प्रतिबद्धता अनुसार भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सेयचेल्लेसमा २० जनवरीबाट खोप आपूर्ति सुरु हुनेछ,’ मन्त्रालयले भनेको छ, ‘श्रीलंका, अफगानिस्तान र मौरिससको हकमा हामीले आवश्यक नियमानकारी क्लियरेन्सको पुष्टि पर्खिरहेका छौं ।’

भारत संसारकै सबैभन्दा ठूलो खोप उत्पादन कारखाना भएको मुलुक हो । भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप उत्पादन गरी भारतीय नागरिकलाई खोप लगाउन सुरु गरिसकेको छ । भारतकै कम्पनीले पनि कोभ्याक्सिन नामको खोप विकास गरेको छ । ती दुवै खोप भारतको खोप अभियानमा सामेल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय