विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

केपी ओली नेतृत्वको एमालका मुख्यमन्त्री राई अल्पमतमा पर्ने स्थिति आएपछि उनलाई राजीनामा गराएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । यसअघि वागमती प्रदेशमा यस्तै गरी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो । नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकले आजै आचार्यलाई संसदीय दलको नेता चुनेको थियो ।

अब मुख्यमन्त्री आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । प्रदेश १ का चारजना प्रदेश सांसद माधव नेपालको पार्टीमा लागे भने आचार्यले विश्वासको मत नपाउन सक्छन् । माधव नेपाल पक्षले प्रदेश १ का ९ सांसद आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।

नेपालको पार्टीले बुधबार मात्रै निर्वाचन आयोगबाट मान्यता पाएको छ । योसँगै अब एमाले छाडेर नेपालको पार्टीमा आए पनि सांसद पद नजाने हुँदा आचार्यका लागि विश्वासको मत कठिन देखिन्छ ।

प्रदेश १ को संसदमा ९३ सदस्य छन् । सरकार गठन गर्न ४७ सांसद चाहिन्छ । हालसम्म एमालेसँग ५१ सांसद छन् । तीमध्ये १ जना सभामुख छन् भने १ जना गुलेफुन मियालाई फौजदारी मुद्दा लागेर फरार भएकाले प्रदेश संसदमा एमालेका ४९ सदस्य मात्रै छन् । माधव नेपालको समाजवादीमा गएका केही सांसद फर्केर एमालेमै आए पनि बहुमत पुग्ने गरी सांसद टिकाउन आचार्यलाई हम्मे पर्छ ।

यसअघि एमाले सचिवसमेत रहेका आचार्य माधव नेपाल पक्षमा हुँदा १८ सांसदले नेपालको पक्षमा रहेको बताएका थिए । बाँकी ओली पक्षमा थिए । तर तेस्रो धारका आचार्य एमालेमै रहेपछि पुरानो समीकरणमा केही फेरबदल आएको छ । अब माधव नेपालको पक्षमा राजेन्द्र राईसहित ९ सांसद रहेको नेपाल पक्षको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय