काठमाडौं– नेकपा (एमाले)ले माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिस कार्यान्वयन नहुने भएको छ ।

निर्वाचन आयोगले भदौ ११ गते नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएको सूचना संसद सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिस गरिएकाविरुद्ध कुनै कदम चाल्नु नपर्ने निर्णय सभामुखले गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए । ‘राजनीतिक दलसम्बन्धी ऐन तथा नयाँ दल दर्ता भइसकेको अवस्थामा कारबाही गर्नुनपर्ने निर्णय सभामुखबाट भएको हो,’ उनले भने ।

यही भदौ १ गते नेकपा (एमाले)ले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो । २०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद बैठक बहिष्कार गरेर पार्टी ह्विप उल्लंघन गरेकाले उनीहरूलाई पार्टी र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

सभामुखको आजको निर्णयसँगै नेता नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको सांसद पद जोगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय