काठमाडौं– सरकारी स्वामित्वको कृषि विकास बैंकमा ३२६ जनाका लागि रोजगारी खुलेको छ । उक्त बैंकले वरिष्ठ शाखा प्रमुख (तह ९) देखि प्रशासन सहायक (तह ४) सम्मको रिक्त पद स्थायी रुपमा पूर्ति गर्न लागेको हो ।

बैंकले शुक्रबार (माघ ९ गते) को गोरखापत्रमा सूचना प्रकाशित गरी योग्यता पुगेका व्यक्तिबाट दरखास्त आह्वान गरेको छ । ३२६ मध्ये १८१ पद खुला प्रतिस्पर्धाको लागि र बाँकी महिला, आदिवासी जनजाती, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्रका लागि छुट्याइएको ।

बैंकले सबैभन्दा धेरै कर्मचारी व्यवसाय सहायक (तह ५) पदमा मागेको छ । व्यवस्थापन, वाणिज्य शास्त्र वा अर्थशास्त्र विषय लिएर स्नातक गरी तीन महिने कम्प्युटर तालिम लिएका व्यक्तिले आवेदन दिन पाउने उक्त पदमा ११९ जना नियुक्त गर्ने बैंकको योजना छ ।

हाल माग गरिएको सबैभन्दा उपल्लो पद वरिष्ठ शाखा प्रमुखको लागि अर्थशास्त्र, कानुन, व्यवस्थापन, सूचना प्रविधि विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वित्तीय संस्थामा अधिकृत स्तरको पदमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

बैंकले वरिष्ठ शाखा प्रमुखमा ३ जना, शाखा प्रमुख (तह ८) मा ५ जना, वरिष्ठ लेखा अधिकृत–सिए (तह ७) मा १७, वरिष्ठ इन्जिनियर–आइटी (तह ७) मा आठ, व्यवसाय अधिकृत (तह ६) मा ४४, एमआइएस अधिकृत (तह ६)मा ४, कम्प्युटर अधिकृत (तह ६) मा ४, कानुन अधिकृत (तह ६) मा ९, इन्जिनियर–आइटी (तह ६) ११, इन्जिनियर–सिभिल (तह ६)मा ३ जना कर्मचारी मागेको छ ।

त्यसैगरी, कर्जा अधिकृत (तह ६)मा २० जना, व्यवसाय सहायक (तह ५) मा ११९ जना, कानुन सहायक (तह ५) मा ३ जना, ऋण सहायक (तह ५)मा १४ जना मागेको छ । प्लस टू पास गरेकाले आवेदन दिन पाउने लेखापाल (तह ४)मा ६२ कर्मचारी मागेको छ ।

दरखास्त फाराम र दस्तुर अनलाइनबाटै बुझाउन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार http://www.recruitment.adbl.gov.np मा गएर अनलाइन आवेदन दिन सकिन्छ ।

उमेरको हकमा तह ४ र ५ मा १८ वर्ष पूरा भई ३५ ननाघेका र तह ६ र ७ मा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेका तथा तह ८ र ९ को लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने बैंकको सूचनामा उल्लेख छ । महिला, अपांगता भएका व्यक्तिको हकमा माथिल्लो उमेर हद ४० वर्ष तोकिएको छ । माघ ९ देखि २९ गतेसम्म दरखास्त पेस गर्न सकिने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय