जेनभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देश फेरि पनि कोरोन भाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ ।
संगठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको जानकारी दिए ।
बिहीबार सार्वजनिक भएको तथ्यांकले अघिल्लो वर्षकै अवस्थामा महामारी फर्किएको देखाएको उनले बताए ।
‘हामी महामारीको फेरि अर्को संकटपूर्ण र चिन्ताजनक अवस्थामा आइपुगेका छौं,’ भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा उनले भने ।
अहिले फेरि फर्किएको महामारी अघिल्लो वर्षको ‘रेकर्ड’ समेत तोड्न सक्ने खतरा रहेको पनि उहाँले औंल्याए ।
पछिल्लो समयमा युरोपेली क्षेत्र अन्तर्गत पर्ने विभिन्न देशमा संक्रमितको संख्या बढ्दै गइरहेको उनले बताए ।
गत हप्ता मात्रै युरोपेली क्षेत्रमा १० लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए भने २४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको थियो ।
‘कोरोनाभाइरसबाट मृत्यु भएका र संक्रमित भएकाको यो संख्या अनुमान गरेभन्दा धेरै र फरक हो,’ क्षेत्रीय निर्देशक क्युगले भने ।
उनले आगामी दिनमा पनि कल्पना गरेभन्दा तीव्र गतिमा महामारी फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने र हेलचेक्र्याइँ गर्न नहुनेमा जोड दिए ।









