काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा आठ हजार २४३ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या सात हजार २७८ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण दर १८.२ प्रतिशत पुगेको छ । पाँच सय बढी संक्रमित भएको एक मात्र जिल्ला ललितपुर छ । दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला १० छन् । ती जिल्लामा मोरङ, सुनसरी, धनुषा काठमाडौं, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

दुई जिल्लामा शून्य
हुम्ला र मुगुमा संक्रमित छैनन् । पछिल्लो २४ घन्टामा ४७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या सात लाख ९७ हजार ९२६ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ४७१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिले होम आइसोलेसनमा ६ हजार ७५२, संस्थागत आइसोलेसनमा ५२६ जना, सघन उपचार कक्षमा १९३ र भेन्टिलेटरमा ५७ जना छन् ।

३४ हजारले खोप लगाए
आज ३४ हजार ७१६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाइएको खोपसँगै अहिलेसम्म ८८ लाख २४ हजार ८१५ जनाले पहिलो मात्रा र ७५ लाख ४१ हजार २६७ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय