काठमाडौं– नाडा अटोमोबाइल एसोसिएसनको आसन्न चुनावमा अध्यक्ष पदका एकजना प्रतिस्पर्धी ध्रुव थापाले आफ्नो प्यानल बलियो रहेको दाबी गरेका छन् । उनले आफू सानो व्यवसायबाट माथि उठेकोले साना–ठूला सबै अटो व्यवसायीको समस्याका विषयमा जानकार भएकोले अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवार भएको दाबी पनि गरे ।

‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ नाराका साथ चुनावी मैदानमा उत्रेका थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी त्यस्तो दाबी गरेका हुन् । नाडाको अध्यक्षमा चौधरी ग्रु्पका करण चौधरी र थापाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु दुवैजना प्यानलसहित मैदानमा उत्रेका छन् ।

थापाले आफूलाई साना अटो व्यवसायीदेखि गोल्छा समूह, विशाल ग्रुप, जगदम्बा समूह, वैद्यज अर्गनाइजेसन, लक्ष्मी इन्टरकन्टिनेन्टल लगायत ठूला व्यापारिक घरानासम्मको समर्थन रहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेद्वार थापाले आफ्नो प्यानलका उम्मेद्वारहरुको परिचय गराए । उनको प्यानलमा वर्तमान कार्यसमितिका समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया छन् ।

उनले यमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बिएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बिएस कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरुलाई समेटेर समावेशी बनाएको बताए । ‘नाडाको इतिहास मै यस्तो समावेशी प्यानल पहिलो पल्ट बनेको हो,’ पत्रकार सम्मेलनमा थापाले भने ।

नाडाको नयाँ निर्वाचनले सबल, सक्षम, र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर काम गर्न सक्ने व्यक्तिको खाँचो पूरा गर्ने र त्यस्तो व्यक्ति थापा भएको उनको प्यानलका व्यवसायीले बताए ।

अध्यक्षका प्रत्यासी थापाले सबै प्रदेशका साथीहरुसँग अन्तक्र्रिया गरेको र त्यस क्रममा उठेका समस्यालाई सम्बोधन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।
थापा प्यानलले प्रदेशस्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोली निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने लगायत एजेन्डा अघि सारेको छ ।

त्यसैगरी, नाडाको आफ्नै भवन निर्माणको लागि पहलकदमी थाल्ने तथा नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो सो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हब निर्माण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता थापा समूहले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय