बारा– बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरिदिएका छन् । जोगी बारा जिल्ला अन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन ।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी संगीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो ।

जोगीले तीन लाख ८० हजार तिरेर हेलिकप्टर चार्टर्ड गरेका हुन् । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छा गरेकाले त्यसो गरेको जोगीले बताए । ‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो,’ बेहुलाका बुवा जोगीले भने, ‘बेहुलाले नै त्यस्तो इच्छा गरेपछि पूरा गर्नैपर्यो ।’ उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने बताए । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुसी लागेको उनले बताए ।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए । ‘हेलिकोप्टर चढ्ने इच्छा थियो,’ बिर्जुले भने, ‘बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय