काठमाडौं– फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, उक्त पार्टीको १४औं महाधिवेशनको उद्घाटन सत्र ।

काठमाडौंमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रुपमा उपलब्ध मञ्चमा प्रमुख दलका शीर्ष नेताले आ–आफ्नै शैलीमा धारणा राख्दै सहकार्य, सहमति र एकताको विकल्प नभएको बताउन पछि परेनन् । त्यसो त कांग्रेसले महाधिवेशनको नारा नै ‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔँ नेपाली कांग्रेसको महाधिवेशन’ भन्ने तय गरेको छ ।

हाँस्यरसले भरिएका घोचपेच पनि उस्तै चल्यो उद्घाटन सत्रमा । राजनीतिक दलप्रति जनतामा वितृष्णा फैलिएको चर्चादेखि एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको प्रसंग पनि कांग्रेस महाधिवेशन उद्घाटन सत्रको अर्को आकर्षणको पाटो बन्यो ।

लामो समयसम्म एउटै मञ्चमा नदेखिएका नेकपा (एमाले)का अध्यक्ष ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति उद्घाटन सत्रको रोचक दृश्यका रूपमा महाधिवेशनमा देखियो ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बीचमा राखेर गरेको भलाकुसारी फोटो पत्रकारका लागि ‘एक्स्क्लुसिभ’ नै बनेको थियो ।

पटकपटक राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन नआएको भन्दै नेकपा (माले)का महासचिव सिपी मैनालीले यथार्थ पेस गरे । महासचिव मैनालीको धारणाभन्दा अझै अगाडि बढेर राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई जनताले ‘चोर’ भन्ने गरेको तर्क गरे । उनले इतिहास भइसकेको राजतन्त्रको पुनःस्थापनाको पक्षमा धारणा राखे ।

लिङ्देनको तर्कप्रति तीन पूर्वप्रधानमन्त्रीले आपत्ति जनाए । एमाले अध्यक्ष ओली, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लिङ्देनको भनाइलाई खण्डन गरे । ओलीले भने, ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ ? यस्ता कुरा बोकेर हिँड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई ?’ अध्यक्ष ओलीले थप अगाडि भने, ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप हो । अलिक समयपछि ठिक आउला भन्ने मलाइ लाग्छ ।’

लोकतान्त्रिक आन्दोलनमा त्याग र संघर्ष गरेका नेताको बदनाम गर्नुको पछाडि निरंकुशता जगाउने षड्यन्त्र रहेको भन्दै माओवादीका अध्यक्ष दाहालले नेतृत्वलाई खुइल्याउने प्रवृत्तिका विरुद्ध जुध्न आग्रह गरे । एकीकृत समाजवादीका अध्यक्ष नेपालले त नेपालको संविधानले सबैलाई राजनीतिक दल खोल्ने अधिकार दिएको भन्दै पूर्वराजालाई पनि पार्टी खोलेर राजनीति गर्न सुझाव दिए ।

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको भन्दै भारतीय जनता पार्टीका नेता डा हर्षवर्द्धनले आश्चर्य प्रकट गरे । उनले यसलाई सहकार्यको साझा संस्कृति भन्दै नेपालका राजनीतिक दल र त्यसको नेतृत्वबाट विश्वका राजनीतिक दलले सिक्नुपर्ने धारणा राखे ।

हर्षवर्द्धनको उक्त भनाइप्रति टिप्पणी गर्दै अध्यक्ष दाहालले भने, ‘हामीले राजनीतिक रुपमा प्रतिस्पर्धा मात्रै गरेका छैनौँ, एकले अर्कालाई प्रधानमन्त्री पनि बनाएका छौं ।’ अध्यक्ष दाहालले नेपालमा नयाँ संस्कार विकास गरिएको र एकले अर्को नेतालाई प्रधानमन्त्री बनाएको उल्लेख गरे ।

दिउँसो १ बजे सुरु भएको उद्घाटन सत्र साँझ ६.४० सम्म चलेको थियो । शुभकामना दिन निम्त्याइएका अन्य राजनीतिक दलका शीर्ष नेतालाई बिदाइ गरेपछि कांग्रेसका पदाधिकारीले पालैपालो सम्बोधन गरे ।

सभापति देउवादेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले आफूलाई मत दिन आग्रह गरेको दृश्य आफैंमा अर्को रमाइलो थियो । गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बनाउन आफूलाई जिताउन आग्रह गरेका सभापति देउवा र नयाँ नेतृत्वको खोजी जरुरी रहेको धारणा राखेका वरिष्ठ नेता रामचन्द्र पौडेलका बीचमा कांग्रेसको उत्थानका विषयमा साझा मत व्यक्त भएको थियो ।

वरिष्ठ नेता पौडेलले वामपन्थी शक्तिभन्दा कांग्रेस पछाडि पर्नुको कारण खोज्नुपर्नेमा जोड दिँदै सैद्धान्तिक रुपमा अब्बल बन्न सबैको मेहनत जरुरी रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय