चितवन– सन्तुलित आहारका लागि अण्डा महत्त्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ ।

नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलांग भएर जीवनयापन गरिरहेका छन् । फिजिसियन डा भोजराज अधिकारी भन्छन्, ‘अण्डा पोषणको प्याकेज हो ।’ मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको अधिकारी बताउँछन् । चिल्लोपना, कार्बोहाइटेड कम र प्रोटिन बढी अण्डामा पाइन्छ । उनले थपे, ‘शरीरको वृद्धि विकास बढी हुनुपर्यो, कार्बोहाइटेड र चिल्लो कम हुनुपर्यो ।’ अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल सबैको कारण धेरै कार्बाेहाइडेट र चिल्लोपना भएको उनको भनाइ छ । यी दुईवटा कुरा कम हुन र प्रोटिन बढाउने कुरा अण्डा र कुखुराको मासुमा पाइने अधिकारी बताउँछन् । ६० ग्रामको अण्डामा आठ ग्राम प्रोटिन पाइने भन्दै उनले थपे, ‘दैनिक दुईवटा अण्डा खायो भने तीन भागको एक भाग उच्च गुणस्तरको प्रोटिन पाइन्छ ।’ यसले मानिसको शरीरमा आवश्यक प्रोटिन पुर्याउन सहयोग पुग्छ ।

ज्वरो आउँदा, गर्भवती हुँदा अण्डाको उपभोग गर्न हुने भन्दै उनले अण्डाको पहेँलो भाग केही मात्रामा खान हुने बताए । मानव शरीरलाई दैनिक ३०० मिलिग्राम कोलेस्ट्रोल चाहिने भन्दै उनले एउटा अण्डामा २०० मिलिग्राम कोलेस्ट्रोल हुने बताए ।

मस्तिष्क र मुटुलाई अण्डाले राम्रो गर्दछ । उनले भने, ‘हृदयघात हुनबाट पनि यसले रोक्न मदत गर्छ ।’ अण्डाको पहेँलो भागमा भिटामिन तथा खनिज हुन्छ भने सेतो भागमा प्रोटिन हुन्छ । मानिसलाई आवश्यक अधिकांश पोषणतत्व यसबाट प्राप्त गर्न सकिने अधिकारीले जानकारी दिए ।

अस्पतालमा बिरामीका लागि खानेकुरामा पोषणको सन्तुलन मिलाउने गरिन्छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पोषण हेर्दै आएकी खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठ अधिकांश बिरामीलाई अण्डा दिइने गरेको बताउँछिन् । यो राम्रो खालको प्रोटिन भएको भन्दै उनले घाउ निको पार्न, मांशपेसी बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, मस्तिष्क एवं स्मरण शक्ति वढाउन, शल्यक्रिया गरेका घाउ छिटो निको पार्न, मानिसको तौल बढाउन, उचाइ बढाउन अण्डा उपयोगी हुने बताइन् ।

अस्पतालका सामान्य बिरामी मात्र नभएर जटिल भई नाकबाट खाना खुवाउने बिरामीलाई दैनिक अण्डा खुवाउने गरेको उनले जानकारी दिइन् । प्रोटिन कम भएका बिरामीलाई दैनिक ३–४ वटासम्म अण्डाको सेतो भाग खुवाउने गरिन्छ । कोही बिरामीको उच्च रक्तचाप र कोलेस्ट्रोल बढी भएमा पहेँलो भाग नखान भनिएको श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय