नयाँ दिल्ली– छिमेकी भारतमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको छ । केही अघिसम्म १० हजारभन्दा तल झरिसकेको दैनिक संक्रमण दर पछिल्लो समय ह्वात्तै बढेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यससँगै भारतमा कोरोना सुरु भएयता संक्रमित हुनेको संख्या तीन करोड ४८ लाख ८ हजार ८८६ जना पुगेको छ ।

गत २४ घन्टामा भएका संक्रमितमध्ये एक हजार ८९२ जना ओमिक्रोन भेरियन्टका संक्रमित रहेको पनि समाचारमा जनाइएको छ । यस अवधिमा ओमिक्रोन संक्रमित ७६६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा थप १२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ७१ हजार ८३० रहेको छ । सक्रिय संक्रमितको संख्या कुल संक्रमितको ०.४९ प्रतिशत हो । गत २४ घन्टामा भारतमा ११ हजार ७ जना कोरोनामुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड २४ लाखभन्दा बढी व्यक्तिको परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४६ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

कोरोना संक्रमण दर बढेसँगै विभिन्न राज्यले स्कुल, जिमखाना जस्ता बढी जमघट हुने ठाउँ बन्द गर्ने, रात्रिकालीन निषेधाज्ञा जारी गर्ने, कार्यालयमा आधा मात्र कर्मचारी बेलाउने लगायत रोकथामका उपायहरु अवलम्बन गरिसकेका छन् ।
पछिल्लो समय पञ्जाब प्रान्तले रोकथामका प्रयासस्वरुप आवागमन र जमघट नियन्त्रण गर्ने उपाय अवलम्बन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय