विदुर– त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सक सहितका स्वास्थ्यकर्मी एकैपटक कोरोनाबाट संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ ।

अस्पतालले एक सूचना प्रकाशित गर्दै पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालको प्रयोगशालामा सोमबार गरिएको पिसिआर परीक्षणपछि अस्पतालमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी गरी एकसाथ ३० जना संक्रमित भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

डा पाण्डेले स्त्री तथा प्रसूति विभागमा कार्यरत तीन चिकित्सक कोभिड–१९ बाट संक्रमित भएका कारण विभागबाट हुने प्रसूति गराउने, शल्यक्रिया गराउनुपर्ने जस्ता कार्य हाललाई बन्द गरिएको बताए । अस्पतालले अत्यावश्यक काम नभइ अस्पताल नआउन आग्रह गरेको छ ।

अस्पतालले एक विज्ञप्ति निकालेर सामान्य र पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल अहिले नआउन र नियमित औषधि लिनुपर्ने सेवाग्राहीले कोभिड–१९ स्वास्थ्य मापदण्डपालना गरेर आउन आग्रह गरेको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ४४ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १०५ पुगेको छ । सक्रिय संक्रमितको यो संख्या गएको भदौयताकै उच्च हो । नुवाकोटमा गएको पुस १३ गतेदेखि १८ गतेसम्म सक्रिय संक्रमित शून्य छ ।

जिल्लामा हालसम्म कोरोनाको कारण ५२ जनाको ज्यान गएको छ । पहिलो लहरमा एक जना, दोस्रो लहरमा ५१ जना र अहिलेको तेस्रो लहरमा कसैको पनि ज्यान नगएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । जिल्लामा हालसम्म २९ हजार ३४५ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा आठ हजार पाँच सय दुई जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय