काठमाडौं– अल्फा, डेल्टादेखि ओमिक्रोनसम्म । पछिल्लो समय यी ग्रिक अक्षरहरु एकाएक विश्वभरिका मानिसको जीवनमा प्रवेश गरे । यसको एक्लो कारण थियो कोभिड–१९ नामको घातक रोग निम्त्याउने नोवेल कोरोना भाइरस (सार्स–कोभ२), जुन सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलोपटक पहिचान भएको थियो र यसले विश्वलाई दुई बन्धक बनायो ।

खोप, भइरसको उत्परिवर्तन, हर्ड इम्युनिटी लगायत कारणले पछिल्लो समय नोवेल कोरोना भाइरस कमजोर भएको देखिए पनि यसले संसारभरका मानिसमाझ एउटा त्रास छाडेको छ । त्यो हो भाइरसका नयाँ नयाँ प्रजातिप्रतिको डर । के नोवेल कोरोना भाइरसको नयाँ रुप वा अर्को कुनै भाइरसले व्यापक नरसंहार त निम्त्याउँदैन ? वा फेरि संसारलाई लकडाउनको अवस्थामा त पुर्याउँदैन ? यी प्रश्नहरुले आम मानिसलाई अझै सताइरहेको छ ।

यस्तैमा अघिल्लो हप्ता अनलाइन स्पेसहरुमा कोरोनाको नयाँ भेरिएन्ट ‘निओकोभ’को चर्चा निकै चल्यो । गुगलका अनुसार गत साता इन्टरनेटमा लाखौंपटक ‘निओकोभ’ सर्च भएको छ । यसले एकातिर सर्वसाधारणलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले महामारीको तेस्रो लहर निम्त्याए जस्तै चौथो लहर ल्याउने पो हो कि भन्ने चिन्ता छ भने अर्कातिर यसबाट संक्रमित ३ जनामा १ जनाको मृत्यु हुने हल्लाले जनमानस आतंकित छ ।

तर यसलाई लिएर आत्तिनुपर्ने कुनै कारण छैन । यो नयाँ पत्ता लागेको भाइरस पनि होइन । चिनियाँ वैज्ञानिकहरुले गरेको एउटा अध्ययनको आधारमा चलेको हल्ला मात्रै हो । वुहान युनिभर्सिटी समेतका वैज्ञानिकहरुले गरेको उक्त अध्ययनको निष्कर्षलाई विशेषज्ञहरुले समीक्षा गर्नै बाँकी छ ।
के हो निओकोभ ?

निओकोभ मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स–कोभ)सँग सम्बन्धित भाइरसको एउटा भेरिएन्टका लागि दिइएको नाम हो । मर्स–कोभ कोरोना भाइरसको ठूलो परिवारको एक सदस्य हो । यसलाई मानिसमा संक्रमण हुन सक्ने मानिएको छ । मर्स–कोभ यसअघि सन् २०१० साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, दक्षिण कोरियाका मानिसमा देखापरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार उक्त भाइरसबाट संक्रमितमध्ये ३५ प्रतिशतको ज्यान गएको थियो ।

नियोकोभ पनि सोही परिवारको भाइरस भएको वैज्ञानिकहरुको भनाइ छ । र यसको संक्रमण दर नोवेल कोरोना भाइरस जत्तिकै तीव्र हुन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । अहिले मानिस डराउनुको कारण पनि यही हो ।

तर यो भाइरससँग अहिल्यै डराउन पर्दैन । किनभने हालसम्म यो मानिसमा देखिएकै छैन । वैज्ञानिकहरुले दक्षिण अफ्रिकाका केही चमेराको अध्ययन गर्दा त्यस्तो भाइरस भेट्टाएका हात्रै हुन् । कथं कदाचित त्यो भाइरस चमेरोबाट मानिसमा सरेको खण्डमा त्यो घातक हुन सक्ने चेतावनी चाहिँ उनीहरुले दिएका हुन् । तर मानिसमा नसर्दैमा उक्त भाइरस पत्ता लागिसकेकोले त्यसलाई निस्तेज पार्ने खोप तयारीमा विश्वभरका वैज्ञानिकहरु जुटिसकेकाले पनि यसबाट आतंकित हुनुपर्ने अवस्था छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय