काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानुनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो ।
राजनीतिक दलबीच संविधान र कानुनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाइ र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदै आएको थियो ।
यसअघि आयोगले सरकारलाई जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सुझाएको थियो । प्रमुख प्रतिपक्ष एमालेले गठबन्धन सरकारले निर्वाचन पछि धकेल्न खोजेको समेत बताउँदै आएको थियो ।









