काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताएका छन् । विराटनगर विमान स्थलमा सञ्चारकर्मीसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसंग पनि उल्लेख गरे ।

उनले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि नेतृत्वलाई सैद्धान्तिक र सांगठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्ने धारणा राखे ।

साथीहरुसँग परामर्श गरेर फागुनको पहिलो हप्ता निर्वाचन आयोगमा पार्टी दर्ता गराउने भन्दै थापाले नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्ने जानकारी दिए । उनले आफूले बोकेको विचारलाई अलपत्र पारेर नछाड्ने भन्दै पार्टीभित्र लाचार र अपमानित भएर बस्नुभन्दा अलग्गै पार्टी खोल्नेमा जोड दिए ।

स्नेह, सद्भाव देखाउने तर माग सम्बोधन गर्न नसक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेको भन्दै नेता थापाले राजालाई साझा अभिभावक र संवैधानिक राजाका रुपमा हेर्न चाहेको बताए ।

उनले एमसिसी आफैंमा आपत्तिजनक नरहेको र यसका विषयमा आएका प्रश्न र आशङ्का विषयमा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै आर्थिक सहयोग लिन सकिने एमसिसीबाट कुनै नोक्सानी नहुने धारणा राखे । उनले यस विषयमा बढीभन्दा बढी राजनीतिक दललाई सहमति गराएर पास गर्नुपर्ने विचार व्यक्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय